एजेन्सी – भारतको उत्तर प्रदेशको बस्ती जिल्लामा एक १७ वर्षीय युवकले हिंसा र अपमानको शिकार भएर आत्महत्या गरेका छन्।
उनलाई जन्मदिनको पार्टीमा बोलाएर कुटिपिटपछि जिउमा पिसाब गरिएको थियो। सुरुमा प्रहरीले उजुरीमाथि कारबाही गर्न नमानेको परिवारले आरोप लगाएका छन्। पछि प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।
इन्डिया टुडेका अनुसार मृतक किशोरलाई २० डिसेम्बर राति जन्मदिनको पार्टीमा बोलाइएको थियो। सोही पार्टीमा उनलाई नग्न पारेर निर्ममतापूर्वक कुटपिट गरिएको र चार जनाले उनीमाथि पिसाब पनि गरेका थिए। आरोपीले यस घटनाको भिडियो पनि बनाएको बताइएको छ। पछि आरोपीले भिडियो भाइरल बनाउने धम्की दिएका थिए। ती किशोरले आरोपीलाई भिडियो डिलिट गर्न अनुरोध गरेका थिए।
परिवारका सदस्यको आरोपका अनुसार अभियुक्तले किशोरलाई थप अपमानित गर्दै थुक्क चाट्न बाध्य पारेको थियो। यसबाट त्रसित युवकले घर फर्केर आमाबुवालाई घटनाबारे बताएका थिए। त्यसपछि २३ डिसेम्बरमा उनले आत्महत्या गरेका थिए।
त्यसपछि परिवारले शवलाई नजिकैको प्रहरी चौकीमा लगेर तत्काल कारबाही गर्न माग गरेका थिए। प्रहरीले नमानेपछि परिवारका सदस्यले छोराको शव लिएर एसपी कार्यालय पुगेर विरोध प्रदर्शन गरेका थिए। केही घण्टाको विरोधपछि मुद्दा दर्ता गरी प्रहरीले कारबाही बढाएको छ।


