एजेन्सी – क्रिसमसको दिन पनि रुसले युक्रेनमाथि हवाई आक्रमण रोकेन।
आज युक्रेनीका लागि डर र विनाशको दिन बन्यो। क्रिसमसको अवसरमा रुसले युक्रेनको धेरै सहरमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो। यो हमला विशेषगरी युक्रेनको खार्किभ सहरलाई लक्षित गरी भएको थियो।
रुसले युक्रेनका विभिन्न सहरमा धेरै मिसाइल र ड्रोन प्रहार गर्यो। यीमध्ये धेरैजसो आक्रमण खार्किभ र आसपासका क्षेत्रमा भएका छन्। यी आक्रमणहरूले आवासीय क्षेत्र, विद्यालय र अस्पतालहरूमा ठूलो क्षति पुर्याएका छन्।
आक्रमणका क्रममा मानिसहरूले बंकरहरूमा शरण लिन बाध्य भएका छन्। खार्किभमा धेरै घर र भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। क्रिसमसको दिन, जब मानिसहरू आफ्नो परिवारसँग समय बिताइरहेका थिए, यी आक्रमणहरूले उनीहरूको खुशीलाई शोकमा परिणत गरेको छ।
युक्रेनी अधिकारीहरूले यी आक्रमणको निन्दा गरेका छन्। उनीहरूले रसियाले जानाजानी क्रिसमसको दिन मानिसहरूमा डर र त्रास फैलाउन हमला गरेको बताइरहेका छन्।
यस आक्रमणपछि विश्वभर रुसको आलोचना भइरहेको छ। धेरै देशले यसलाई मानवताविरुद्धको अपराध भनेका छन्। युरोपेली संघ र अमेरिकाले घटनाको निन्दा गर्दै युक्रेनलाई थप सहयोग गर्ने आश्वासन दिएका छन्।
बीबीसीका अनुसार रुसले आक्रमण स्वीकार गर्दै क्रिसमसको दिन युक्रेनमा गरेको आक्रमण सफल भएको बताएको छ। अर्कोतर्फ, आक्रमणका सम्बन्धमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले ७० भन्दा बढी मिसाइल प्रहार गरेको बताएका छन्।
रुसी आक्रमणको समयमाथि प्रश्न गर्दै राष्ट्रपति जेलेन्स्कीले हरेक ठूला आक्रमणका लागि तयारी आवश्यक हुने र आजको आक्रमण अचानक नभएको बताएका छन्।’ यो नियोजित आक्रमण हो। पुटिनले आक्रमणको लागि जानाजानी क्रिसमसको दिन रोजेका हुन्,’ उनले भने, ‘यो भन्दा अमानवीय के हुन सक्छ ?’


