२०८३ कार्तिक १२ गते बुधबार

आगोको भुङ्ग्रोमाथि किन नाचे ताथलीका बस्नेत परिवार?

 |  रमेश गिरी
Sanket

रमेश गिरी

भक्तपुर, जेठ ३
bhungro

भक्तपुर- मध्यराति आँगनमा बजेको बाजाको आवाज पल्लो गाउँसम्म सुनिन्थ्यो। मध्यरातिसम्म पनि बजेको बाजा सुनेर आफ्नो गाउँको मात्र होइन, वल्लोपल्लो गाउँका मानिसहरुसमेत आगोको भुङ्ग्रोमाथि नाच हेर्न साँझ ढल्किएदेखि नै भेला भएका थिए।

साँझ ढल्किँदै गयो। मानिसहरूको चहलपहल बढ्दै गयो। आँगनमा बाजा बज्दै थियो। बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भीड बढ्दै थियो। चाँगुनारायण नगरपालिका–९ ताथली सौडोलको बस्नेत–गिरी बस्तीका पहलमान बस्नेतको घर पछाडिको बारीको पाटामा वरिपरि बाँसले घेरेर बीचमा राखिएको एक सय आठ भारी दाउराको थुप्रामा तान्त्रिक विधिले पूजा गरी बालेको आगोको राप दन्किँदै थियो। केही व्यक्तिहरु बाँसले ठोस्दै दनदनी आगो बालिरहेका थिए। राति ९ बजेदेखि तीनवटा रूखबाट काटिएको दाउरा दनदनी बल्दै थियो।

दुई घन्टाभन्दा बढी समय बलेको दाउरा सबै आगोका भुङ्ग्रोमा परिणत भयो। मध्यराति करिब ११ बजे यो बस्तीसँगै वरिपरिबाट भेला भएका मानिस बारीको डिल र वरिपरि बसेर निकै कौतुहलताका साथ ‘अग्निकुण्ड’तर्फ हेर्दै अब के हुन्छ, आगोको सबै भुङ्ग्रोमाथि उफ्रेर सबै आगोको गोल निभाउँछन् कि निभाउँदैनन् भनेर हेर्दै थिए।

आगोको भुङ्ग्रो नजिकै गुरु रुदबहादुर खड्काले तान्त्रिक विधिअनुसार पूजा गरेपछि कुलदेवताका नाममा बोकाको बली दिइयो। त्यसपछि पहलमानको मूलघरमा भित्रिएका सेतो गन्जी र धोती लगाएका पुरुषहरुले पूजा गरेर बत्ती खाएसँगै शरीर कमाउँदै स्नान गरेर फर्किएसँगै काम्दै उफ्रँदै थुपारिएको आगोको भुङ्ग्रोमाथि तीनपटक घुमेपछि गुरुको आदेश पाउने बित्तिकै आगोमाथि दौडिन थाले।

केहीबेरमा मूलको घरको पूजाकोठाभित्र गुरुदेखि विभिन्न देवदेवी र वायु शरीरमा चढेका एक हूल मानिस काम्दै घरबाट निस्किए र आगोको भुङ्ग्रोतर्फ लम्किए। अगाडि बाजा घन्किरहेको थियो। वरिपरि बढेको भीड आगोमाथिको नाच हेर्न लालायित थिए।

त्यसपछि देवदेवी एवं वायु चढेका सेता गन्जी, धोती लगाएका, माला लगाएका व्यक्तिहरू, काम्दै उफ्रँदै दाउराको आगोको भुङ्ग्रो अगाडि पुगे। कोही देवदेवीको जयजयकार गर्दै थिए।

हातमा थाल बजाउँदै उफ्रिरहेका र अर्का मूल गुरु रुद्रबहादुर खड्का एकै छिनमा आगोको भर्भराउँदो भुङ्ग्रोमा लात्तीले हानेर उफ्रिन थाले। त्यसलगत्तै एकपछि अर्को आगोमा होमिए र त्यसैगरी लात्तीले हाने। गुरुको आदेशपछि नयाँ तथा पुराना डाङ्ग्रेहरू टाउको निहुराउँदै मुखबाट ‘भुर्भुर्भुर्भुर्भुर’ आवाज निकाल्दै जोस्सिँदै एकमाथि अर्को आगोमा होमिन थाले। उनीहरू आगोको भुङ्ग्रोमा लात्तीले हान्दै आगोलाई यताउति छर्दै त्यहीँ माथि उफ्रँदै नाच्न थाले। मानौँ त्यो एउटा खेलकुद मैदान हो, आगोका तीन भङ्ग्रो फुटबल हो र उनीहरू त्यही, त्यहीँ फुटबल खेलिरहेका छन्।

नाङ्गो पैतालाले आगोमाथि मानिस नाचेको र उफ्रिएको देखेर कतिका आँखा आश्चर्यले चम्किला भए। भुङ्ग्रोमाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो। काम्दै र मन्त्र फलाक्दै डाङ्ग्रे भर्भराउँदो भुङ्ग्रोमा नाचिरहे। आगोमा नाचेको डिलमा बसेर हेरिरहेकाहरू चकित मात्रै परेनन्, आफ्ना छोरा र श्रीमान् आगोमा नाच्दा आमा र श्रीमतीहरूको मन भने कटक्क खायो।

शरीरमा कुलको मूलदेवता अर्थात् खप्परमष्ट शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, कुलका मामाबाराही शरीरमा धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत, दिनेश बस्नेत, सुमन बस्नेत आगोमा उफ्रिन थाले।

चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित सौडोलको बस्नेत बस्तीमा कूल तथा वायु देवताका लागि खली खुवाउने क्रममा १०८ भारी दाउराको आगोको भुङ्ग्रोमा नाच्दै। तस्बिरः रमेश गिरी/रासस

नजिकै डिलमा उभिएकी एक किशोरी भन्दै थिइन्, ‘ओहो, आगोको भुङ्ग्रोमा उफ्रिँदा हाम्रो ड्याडीलाई पोलेन होला त? जीउ पनि दुख्यो होला है।’ हेर्नेमध्ये धेरैले जिज्ञासा राखे, यसरी भुङ्ग्रोमाथि नाच्नेको पैतालाको हालत के भयो होला रु तर खली खुवाउने कार्य सम्पन्न भएपछि भुङ्ग्रोमा नाच्नेको पैतालामा आगोले पोलेको कुनै सङ्केत नदेखिँदा हेर्नेहरु चकित परे।

आगोमा नाचेपछि शरीरमा देवदेवी र वायुको कम्पन आइरहेका सबैलाई गुरुले आगामा नाच्दा सुरक्षित भए नभएको एवं काँचो वायु तथा कुलदेवदेवीले पूर्णता पाए/नपाएको जिज्ञासा राख्दै पालैपालो सबैलाई सोधे। पूर्णता पाएको र डाङ्ग्रेको शरीर सुरक्षित रहेको बताएपछि भने फेरि जयजयकार गर्दै खुसीको धुनसहितको बाजा बजाउँदै सबै काम्दै सुरुमा निस्किएकै घरमा पसे, बलिरहेको बत्ती मुखमा हाल्दै शरीर कम्पन छाड्दै पुरानै अवस्थामा फर्किए र बाहिर निस्किए।

आफ्नो कुलदेवतालाई उचित स्थान दिने र अकालमा ज्यान गुमाएर भड्किएको मृतात्माको मुक्तिका लागि शदिऔँदेखि चल्दै आएको तान्त्रिक विधिअनुसार गरिने खली प्रथालाई बस्नेत परिवारले चौथोपटक पूर्णता दिएका थिए। मूल गुरु खड्काले भने, ‘खली प्रथालाई चमत्कार वा अन्धविश्वास भन्न हुँदैन, यो श्रृष्टिको उत्पत्ति कालदेखिनै चल्दै आएको परम्पपरा मानिन्छ। गुरुहरूले प्राचीन तान्त्रिक प्रक्रियामार्फत प्रेतात्माको मुक्तिका लागि खली प्रथा चल्दै आएको हो। मैले नै यहीँ कुलमा योसमेत तीनपटक वायु उतार्ने र खली खुवाउने कार्य गरिएको छ। बीस वर्षअघि पनि यो कुलमा खली खुवाइएको थियो।’

उनका अनुसार अकालमा मृत्यु भएकाको उद्धार नगरी पिशाचको रुपमा रहँदा त्यो कुल वंशभित्रका परिवारलाई दुःख कष्ट दिने, घरमा बिरामी नछुट्ने, अकल्पनीय दुर्घटनाहरु हुने, पशु चौपायाहरु बिरामी नै नभई अचानक मर्नेलगायतका घटना हुन्छन्, अकालमा मृत्यु भएकाको वायु उतारेर त्यही कुलवंशका व्यक्तिको शरीरमा धारण गरेपछि वायुदेवका रुपमा स्थान पाउने भड्किएको आत्माले मुक्ति पाउने विश्वास रहेको छ। अकालमा मृत्यु भएकाहरु सबै वायुदेवका रुपमा कुलदेवतासँगै राखेर पूजा गर्ने भएपछि कुलवंशमा राम्रो भएर आउने पूर्ण विश्वास रहेको मूल गुरु खड्का बताउँछन्। तान्त्रिक विधि र कूल देवताको शक्तिले आगोको भुङ्ग्रोमा उफ्रिँदा पनि डाङ्ग्रको खुट्टाको रौं समेत नजल्ने उनी बताउँछन्।

यहाँका बस्नेत कुलमा अकालमा ज्यान गुमाएकाहरूको आत्मा मुक्तिको कर्मका लागि खली खुवाउन तीन साताको तान्त्रिक विधिअनुसार सबै प्रक्रिया पूरा गरेर खली खुवाउने कार्य सम्पन्न गरिएको हो। तीन सातादेखि हरेक दिन राति खाना खाएपछि कुलका सबै पुरुष शुद्ध भई जम्मा भएर प्रत्येक रात गुरुमार्फत वायु उतार्ने काम सम्पन्न गरेपछि खली खुवाएर त्यसलाई पूर्णता दिइएको नवीन बस्नेत बताउँछन्।

शरीरमा कुलको मूलदेवता अर्थात् खप्परमष्ट शरीरमा धारण गरेका ४० वर्षीय राजकुमार बस्नेत, भान्जाभान्जी चेतबराह र मण्डली धारण गरेका २४ वर्षीय सौरभ बस्नेत, वायु धारण गरेका ४० वर्षीय सुवास बस्नेत आगोको भुङ्ग्रोमा उफ्रिएका थिए। पुरोना धामी दिनेश बस्नेतको आङ अर्थात् शरीरमा धारण गरेको खप्परमष्ट राजकुमारको शरीरमा र पुरानो धामी सुमन बस्नेतको शरीरमा रहेको भान्जाभान्जी चेतबराह र मण्डली सौरभको आङ अर्थात् शरीरमा हस्तान्तरणसमेत गरिएको नवीन बस्नेतले बताए।

आफ्नो कुलमा अकालमा ज्यान गुमाएर मोक्ष नपाएका पितृको उद्धारका लागि गरिने प्राचीन र तान्त्रिक विधिलाई खली खाने प्रथा भन्ने गरिएको गुरु खड्काले बताउनुहुन्छ। सुरुमा गुरुमार्फत कुलका सबै जम्मा भएर एक भाइका घरमा वायु उतार्ने गरिन्छ।

प्रकाशित: २०८० जेठ ३ गते बुधबार ०७:१७
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना