दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन। तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको योनहापको समाचारमा उल्लेख छ।
सोल- दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा जीवितै उद्धार गरिएका २ जनाबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको छ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले १८१ जना सवार जहाजबाट जीवितै उद्धार गरिएका दुई जनाबाहेक सबैको मृत्यु भएको अनुमान गरिएको उल्लेख गरेको छ। त्यहाँको अग्नि नियन्त्रण विभागले दुई जनाबाहेक सबै १७९ जनाकै मृत्यु भएको अनुमान गरेको छ भने उद्धार कार्य जारी छ।
जीवितै उद्धार गरिएका दुई मध्ये एक जना क्रु मेम्बर हुन् भने एक जना यात्री हुन्। उनीहरु दुवै जना महिला हुन्। उनीहरूलाई उपचारका लागि मोक्पो अस्पतालमा भर्ना गरिएको छ।
थाइल्यान्डको बैंककबाट फर्किएको जेजु एयरको विमान दक्षिण–पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो। स्थानीय समयअनुसार बिहान ९ बजेर ७ मिनेटमा जहाज विमानस्थलको रनवेबाट चिप्लिएर बारमा ठोक्किएपछि आगलागी भएको थियो।
राजधानी सोलबाट २८८ किलोमिटर टाढा पर्ने विमानस्थलमा भएको दुर्घटनामा परेर मृत्यु भएका ८५ जनाको शव निकालिएको बीबीसीको समाचारमा उल्लेख छ।
बोइङ ७३७–८०० विमान विमानका यात्रीमध्ये १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए।
दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन। तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको आशंका गरिएको योनहापको समाचारमा उल्लेख छ।


