काठमाडौँ- नेपालका अधिकांश क्षेत्र र समुदायमा कात्तिक कृष्ण औंसी अर्थात् तिहारमा खेलिने देउसी भैलो प्रख्यात छ। कर्णालीको जुम्ला क्षेत्रमा भने पुस कृष्ण औंसीदेखि ५ दिनसम्म जुम्ली भैलो खेल्ने चलन छ।
स्थानीय जनश्रुतिका अनुसार जुम्ली भैलो प्रचलनबारे अनेक प्रसंग छन्। बाह्य संस्कृतिको प्रभावले यस्ता मौलिक संस्कृति विस्तारै ओझेल पर्दै र हराउँदै गएका छन्।
जुम्लातिर पुस कृष्ण औंसीको दिनलाई भट्ट्या औंसी पनि भनिन्छ। त्यो दिन गाईगोरुलाई भटमास पकाएर दिन्छन्। नुन दिन्छन्। तिहारको गाईगोरुपूजा जस्तै यो दिन गाइगोरुको पूजा गरिन्छ। कागलाई पनि खानेकुरा दिइन्छ।
सोही अवसरमा जुम्लाका विभिन्न स्थानबाट राजधानी काठमाडौंमा बसोबास गर्ने जुम्ला बासीहरुले पनि जुम्ली भैलो मनाएका छन्।
पुस कृष्ण औंसी (हिजो)देखि जुम्लाका विभिन्न स्थानमा खेलिने भैलो बसाइँसराइका कारण काठमाडौँमा पनि मनाइने गरेको धनादेवी पाण्डेले बताए।
जुम्लामा साँझमा खेलिने भए पनि काठमाडौंमा त्यो सम्भव नभएको कारण दिनमा भैलो खेल्न टुडीखेलमा जम्मा भएको उनीले बताए।
आफ्नो संस्कार, संस्कृति बचाउन, देउडा खेल्न, सुखदुःखको कुरा गर्न काठमाडौंमा भैलो खेल्न थालिएको पाण्डेले बताए।













तस्बिर : नेपाल फोटो लाइब्रेरी।


