एजेन्सी – अमेरिकाको सेन्ट्रल न्यू अर्लिन्समा एउटा ट्रक भीडमा पस्दा भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्। यो घटना नयाँ वर्षको बिहान बोर्बोन स्ट्रिट र इबरभिलको चौराहेमा भएको हो।
यो स्थान रात्रि जीवनको लागि चर्चित छ। घटना हुँदा पनि यस ठाउँमा पर्यटकको भीड रहेको थियो। मानिसहरूलाई कुल्चेको ट्रकका चालकले भीडमा गोली पनि चलाएका समाचारहरूमा जनाइएको छ। पछि स्थानीय प्रहरीले ती ट्रक चालकलाई नियन्त्रणमा लिएका थिए।
सीबीएस न्यूजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै लेखेअनुसार धेरै घाइतेहरूलाई बोर्बोन र नहर सडकको चौराहेमा उपचार गराइएको छ। समाचार एजेन्सी रोयटर्सले पनि तीव्र गतिमा ट्रकले भीडलाई ठक्कर दिएको लेखेको छ।
