काठमाडौँ- गार्डियन माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको प्राथमिक शेयर (आइपीओ) रोक गर्न माग गर्दै उजुरी परेको छ।
केही लगानीकर्ताले गैरकानुनी रुपमा कम्पनीले आइपीओ निष्काशन गर्न लागेको भन्दै बिमा प्राधिकरणमा उजुरी दिएका हुन्।
आईपीओ निष्काशनका लागि कम्पनी सञ्चालनमा आएको एक वर्ष हुनुपर्ने नियम भएपनि कम्पनीले त्यस अगावै आईपीओ निष्काशन गर्न लागेको भन्दै प्राधिकरणमा उजुरी परेको छ।
‘गारडियन माइक्रो लाइफले आव २०८९/८० मा जम्मा ९ दिन मात्रै वीमा सेवा प्रवाह गरेको थियो। हाल कम्पनीको आव २०८०/८१ को वित्तीय विवरण बीमा प्राधिरकणबाट पारित हुन र बार्षिक साधारणसभा गर्ने बाकी छ। सो कम्पनीले यही पुस २१ गतेबाट आईपिओ निष्काशन गर्दैछ।
कम्पनीले जम्मा ९ दिन मात्रै बीमा सेवा कारोवार गरी सोही वित्तीय विवरणको आधारमा आईपिओ निष्काशन गर्ने अनुमति पाएको देखिन आएको छ। नेपाल धितोपत्र बोर्ड र प्राधिकरणमा आ.व २०७९/८० को वित्तीय विवरणको आधारमा आईपिओ निष्काशन गर्न अनुमति दिनु पूर्ण रुपमा गैर कानूनी हो,´ उजुरीमा उल्लेख गरिएको छ।
कम्पनीको आईपिओ तत्काल रोक्का राखी यस घट्नामा संलग्नहरुलाई कारवाही गर्ने र प्रक्रिया पुरा गरेर मात्रै आईपिओ निष्काशन अनुमति दिने व्यवस्था माग उजुरी गरिएको छ।
यता कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले भने आफुहरुले नियमपूर्वक आईपीओ निष्काशन गर्न लागेको बताए। ‘हामीले एक्लैले आईपीओ जारी गर्ने कुरा हैन। बिमा प्राधिकरण र सेबोनले अनुमति दिएरै निष्काशन गर्न लागिएको हो। तसर्थ हामीले नियम पुरा गरेरै आइपीओ आह्वान गरेका हौँ,´उनले भने।
कम्पनीमा दिपक भट्टसहितको लगानी छ। नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्षहरु शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणालगायतका विभिन्न व्यवसायीहरुको पनि यसमा लगानी छ। प्रभावशाली व्यक्तिहरूको लगानी भएकाले आइपिओ प्रक्रिया नरोक्न प्राधिकरणमा दबाब छ।
गोल्छाको १ करोड, पशुपति मुरारकाको ५० लाख, राणाको ५ करोड ५० लाख रुपैयाँ र अग्रवालको ११ करोड २५ लाख रुपैयाँ यस कम्पनीमा लगानी रहेको छ।
प्राधिकरणले भने उजुरीका सम्बन्धमा अध्ययन भैरहेको बताएको छ।


