एजेन्सी – अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले बिहीबार भएको न्यु अर्लिन्स आक्रमणका एक्लो आतंकवादी र इस्लामिक स्टेट (आईएसआईएस) को समर्थक शमसुद्दीन जब्बार भएको बताएको छ।
उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो। यसअघि न्यू अर्लिन्स कोरोनरले भने आक्रमणमा १५ जनाको मृत्यु भएको बताएको थियो।
एफबीआईका उपसहायक निर्देशक क्रिस्टोफर रायले पत्रकार सम्मेलनमा आक्रमणकारी जब्बारले आइएसको समर्थनमा सामाजिक सञ्जालमा भिडियो पोस्ट पनि गरेका दाबी गरेका छन्।
जब्बारले डिसेम्बर ३० मा ह्युस्टन टेक्सासमा ट्रक भाडामा लिएको र त्यसपछि डिसेम्बर ३१ को साँझ न्यू अर्लिन्स आएका उनले बताए।
अमेरिकाको न्यु अर्लिन्समा नयाँ वर्ष मनाइरहेका मानिसहरूलाई जनवरी १ तारिखको रात तीव्र गतिको पिकअप ट्रकले किचेको थियो। त्यहाँ हजारौं मानिसहरू सहरको सबैभन्दा व्यस्त बोर्बोन स्ट्रिटमा उत्सव मनाइरहेका थिए।
आक्रमणकारीले पिकअप ट्रकबाट बाहिर आएर मानिसहरूमाथि गोली चलाएका थिए। जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाउँदा आक्रमणकारीको मृत्यु भएको थियो।
भिडन्तमा दुई प्रहरी पनि घाइते भएका छन्। यस हमलामा आक्रमणकारी सहित १५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए। घटनास्थलमा लामो बन्दुक बाहेक दुईवटा घरेलु बम र एउटा आइएआइको झण्डा भेटिएको थियो।


