पथरी – ‘एसियन हाइवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पुर्याएको स्थानीयवासी गुनासो गरेका छन्।
प्लान्टबाट निस्किएको धुलो, धुवाँ, दूषित पानी, विकार कच्चापदार्थ र आवाजले समुदायमा असर परेको छ।
स्थानीयवासीसँग आठ वर्षका लागि जग्गा भाडामा लिएर निर्माणकम्पनीले प्लान्ट स्थापना गरेर हाईवे निर्माणको काम सुरु गरेको छ। स्थानीयसँगको सहकार्यबिना र पथरी शनिश्चरे नगरपालिकालाई जानकारी नगराई प्लान्ट स्थापना गरेर निर्माण सुरु गरेको स्थानीयले गुनासो गरेका हुन्।
कम्पनीले बस्तीभित्रै प्लान्ट राख्नाले घरभित्र धुलो पस्ने र बारीमा दूषित पानी, धुलो र धुवाँपसी बाली नष्ट भएको स्थानीय भीम मगरले बताए।
प्लान्टबाट निस्किएको दूषित पानी र धुलो धुवाँका कारण अघिल्लो वर्षको तुलनामा कृषि उपज उत्पादन आधा घटेको उनको भनाइ छ। बस्तीभित्र रहेको प्लान्टका उपकरण र औजारबाट रातको समयमा ध्वनि प्रदूषण, वायु प्रदूषण, जल प्रदूषण तथा एसियन हाइवे निर्माणमा खटिएका कर्मचारी र श्रमिकका लागि बनेको शौचालयले गाउँवासीलाई समास्या स्थानीय युवा जनक पोख्रेलले बताए।
अझ उक्त स्थानमा प्लान्टसँगै अलकत्र पोल्ने मेसिन अस्फाल्ट प्लान्ट थपिने भएपछि जिरी खिम्तीबासीमा गाउँवासीमा समस्या भएको जनाइएको छ।
प्लान्ट घर र उब्जाउयुक्त कृषि बालीसँग टाँसेर बनेको छ। यसका कारण समुदायमा प्रदूषण बढेर समस्या भएको डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि निरौलाले बताए।
नगरले पटक-पटक स्थानीयको रायसहित प्लान्ट सञ्चालन गर्न मौखिक जानकारी गराए पनि कम्पनीले बेवस्ता गरेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत शशि राईले बताए।
यस गाउँका केही जग्गावाला व्यक्ति र कम्पनीका प्रतिनिधिबीच प्लान्ट राख्नेलगायत गोप्य सहमति गरेर काम गरेका आरोप स्थानीयले लगाएका छन्। प्लान्ट राखेपछि यहाँका ५ सय बढी घरधुरीलाई असर परेको हो। प्लान्ट अन्यत्र नसारे अदालतसम्म जाने स्थानीयवासीले चेतावनी दिएका छन्।


