एजेन्सी – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो पद छाड्ने भएका छन्।
द ग्लोब एन्ड मेल पत्रिकाको रिपोर्टअनुसार जस्टिन ट्रुडोले आज सोमबार (६ जनवरी) मा राजीनामा दिन सक्नेछन्। लिबरल पार्टीभित्र बढ्दो असमझदारी र सदस्यहरूबाट आफूमाथि परेको दबाबका कारण ट्रुडोले यो ठूलो निर्णय लिने जनाइएको छ।
उक्त पत्रिकाको अनुसार लिबरल पार्टीभित्र असन्तुष्टि र अन्तर्विरोध बढ्दै गएको छ। यस विषयमा लिबरल पार्टीको आन्तरिक मामिलाको जानकारी भएका तीन प्रमुख स्रोतलाई उद्धृत गर्दै ट्रुडोले राजीनामाको घोषणा गर्न सक्ने बताइएको छ।
यसपछि बुधबार ८ जनवरीमा नेसनल लिबरल पार्टीको संसदीय दलको बैठक बस्दैछ, जसअघि ट्रुडोको राजीनामा घोषणा हुने सम्भावना छ।
सन् २०१५ मा पहिलो पटक चुनाव जितेर ट्रुडो क्यानडामा सत्तामा आएका थिए। यसपछि उनले २०१९ र २०२१ मा पनि लिबरल पार्टीलाई जित दिलाएका थिए। तर हालको अवस्थामा जनमत सर्वेक्षणअनुसार, ट्रुडो आफ्नो प्रमुख प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रे भन्दा २० अंकले पछि छन्।
यो गिरावटले उनको राजनीतिक पकडमा ठूलो कमजोरी झल्काउँछ।
लिबरल पार्टीका सदस्यहरू अब ट्रुडोको नेतृत्वमा पार्टीलाई अर्को चुनाव जित्न गाह्रो हुने बताउँछन्। पार्टीभित्रै उनीविरुद्धको असन्तुष्टि बढ्दै गएको र यही आक्रोशको परिणाम सांसदहरूले खुलेर विरोध गर्न थालेका छन्।
केही समयअघि उनलाई हटाउन हस्ताक्षर अभियान पनि चलाइएको थियो। यस अवधिमा ट्रुडोलाई धेरै कठिन प्रश्नहरू सोधिएका थिए। जसका कारण उनलाई राजीनामा दिन दबाब परेको छ।


