काठमाडौँ- भुटानी शरणार्थी नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पक्राउ परेका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर तेस्रो देश पठाइदिने आश्वासन दिएर ठगी गरिएको प्रकरणमा उनी पनि संलग्न भएको आरोपमा पक्राउ परेका हुन्।
यो प्रकरणमा पक्राउ परेका बिचौलियाहरू केशव दुलाल, सानु भण्डारीलगायतले उनी पनि संलग्न भएको बयान दिएका थिए। सोही बयानका आधारमा रिजाललाई प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिएको छ।
नेपालमा रहेका झन्डै ६ हजार ५ सय शरणार्थीलाई पनि तेस्रो देशमा व्यवस्थापन गर्नुपर्ने भन्दै उनले पहल गरेका थिए। यसकै लागि उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापा, प्रधानमन्त्री पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि भेटेर उनले त्यसको व्यवस्था मिलाउन आग्रह गरेका थिए।
यो प्रकरणमा प्रहरीले हालसम्म १५ जनालाई पक्राउ गरी बयान लिइरहेको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पनि यही प्रकरणमा जोडिएर हाल प्रहरी हिरासतमा छन्। यो प्रकरणमा जोडिएका हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरवारबाटै पक्राउ परेका छन्।


