काठमाडौँ – सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएकी एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला धरौटी बुझाएर रिहा भएकी छन्।
जिल्ला अदालत मोरङको आदेशपछि उनले १० लाख धरौटी बुझाएर रिहा भएकी हुन्। न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको हो।
मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी एक्कासि बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन्। आजै बयानपछि थुनछेक बहस पनि भएको थियो।
मोरङको धनपालथान-३ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको आरोपमा कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो। मुद्दा दर्ता भएपछि पक्राउ पर्ने डरले शिक्षकसमेत रहेकी उनी फरार भएकी थिइन्।
सोही सहकारी ठगी प्रकरणमा सहकारीका पूर्व उपाध्यक्ष तथा रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी भने पुर्पक्षका लागि थुनामा छन्।


