काठमाडौँ – नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले गुप्ता र कहारलाई ६५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो।
उनीहरूले भवन निर्माण सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा बुटवल कार्यालयबाट गएको टोलीले रंगेहात पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।
सेवाग्राहीबाट ६५ हजार रूपैयाँ घुस लिइरहेको अवस्थामा लेखापाल गुप्ताको कार्यकक्षबाट बुधबार उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताएका छन्।


