काठमाडौँ – साविक विजेता रियल मड्रिड स्पेनिस सुपर कप फुटबलमा सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ। गएराति मायोर्कालाई ३-० ले हराउँदै रियलले बार्सिलोनासँग उपाधिका लागि भिडन्त गर्ने पक्का गरेको हो।
रियललाई जित दिलाउन जुड बेलिङहाम र रोड्रिगोले एक-एक गोल गरे भने एक गोल आत्मघातीका रूपमा उपहार पायो। ६३ औं मिनेटमा पहिलो गोल गरेको रियलले बाँकी दुई गोल दोस्रो हाफको इन्ज्युरी समयमा गरेको हो।
बार्सिलोना र रियल मड्रिडले उपाधिका लागि जनवरी १३ मा खेल्ने छन्। बार्सिलोनाले भने हिजो भएको पहिलो सेमिफाइनलमा एथ्लेटिको क्लबलाई हराएको थियो।
बार्सिलोनाले यो उपाधि सर्वाधिक १४ पटक जितेको छ भने रियल मड्रिडले १३ पटक जितेको छ। पछिल्लोपटक बार्सिलोनाले सन् २०२३ मा तथा रियलले २०२४ मा जितेका थिए।
