काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ‘स्वच्छ खानाः उत्कृष्ट व्यापार’को नारासहित परम्परागत खाद्य मेला २०८१ आयोजना गरेको छ।
‘‘स्वच्छ भान्छा’ स्वर्णिम योजना अन्तर्गत सञ्चालित ‘खाध्य स्वच्छता शिविर मार्फत रचनात्मक उध्योगको प्रवर्धन’ गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको महानगरपालिकाले जनाएको छ।
रैथाने तथा मौलिक खानाका परिकार उत्पादन गर्ने सिपलाई रचनात्मक उद्योगका रुपमा प्रवर्धन गर्ने उद्देश्यले दरबार हाई स्कुलको प्राड्ंगणमा आयोजना गरिएको यो मेलामा १६ वटा स्टल छन्।
‘काठमाडौँका जात्रापर्व, धार्मिक, सामाजिक तथा सांस्कृतिक रीतिरिवाजसँगै ऋतुअनुसार बनाइने स्थानीय खाद्य बस्तु मेलाका आकर्षण हुन्। मौलिक स्वादका रैथाने एवम् स्थानीय खानाका परिकार ‘एक वडा : एक उद्यम’ अन्तर्गत उत्पादित खाद्य वस्तु प्रदर्शनीमा उपलब्ध छन्,’ महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।
रैथाने तथा मौलिक खानाको प्रवर्धनका लागि समेत आयोजना गरिएको यो मेलामा नेवाः परिकारका साथै स्थानिय उध्योगले उत्पादन गरेका विभिन्न सामाग्री प्रदर्शनीमा राखिएको छ।
















