काठमाडौँ – ६१ औं मिनेटमा डियोगो ड्यालोटले रातो कार्ड खाएर मैदान छाडे पनि म्यानचेस्टर युनाइटेडले एफ ए कपमा आर्सनललाई हराउँदै चौथो राउण्डमा प्रवेश गरेको छ।
हिजो राति निर्धारित समय १-१ को बराबरीमा खेल सकिएपछि पेनाल्टी सुटआउटमा युनाइटेड ५-३ गोलअन्तरले विजयी भएको हो।
यसअघि ५२ औं मिनेटमा ब्रुनो फर्नाण्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए पनि ६३ औं मिनेटमा ग्याब्रिअलले गोल गर्दै आर्सनललाई बराबरीको स्थितिमा पुर्याएका थिए। तर ६१ मिनेटमा रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो।
१० खेलाडीमा सीमित भएको युनाइटेडविरुद्ध गोल गर्ने आधा दर्जन अवसर खेल फालेपछि आर्सनल पराजय भोग्न बाध्य भयो। युनाइटेडले गत डिसेम्बर ५ मा प्रिमियर लिगमा आर्सनलसँग २-० गोलअन्तरको पराजयको पनि बदला लिन सफल भयो।


