काठमाडौँ – टोटनहाममाथि पुनरागमन जित निकाल्दै आर्सनलले शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंकदूरी घटाएको छ।
प्रिमियर लिगअन्तर्गत गएराति घरेलु मैदानमा १ गोलले पछि परेको अवस्था उल्ट्याएर आर्सनल महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो।
सन हियुङ मिनले २५ औं मिनेटमा गोल गर्दै टोटनहामलाई अग्रता दिलाए पनि डोमानिक सोलान्केले आत्मघाती गोल गरेपछि आर्सनल १-१ बराबरीमा पुग्यो। यस्तोमा लियोनार्ड ट्रोसार्डले पहिलो हाफकै ४४ औं मिनेटमा गोल गरेपछि आर्सनल २-१ गोलअन्तरले विजयी भयो।
पछिल्ला पाँच खेलमा जित निकाल्न नसकेको टोटनहाम लिगको १३ औं स्थानमा रहँदा आर्सनल भने २१ खेलबाट ४३ अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ। समान खेल खेलेको नटिङ्घम फरेस्टको भने ४१ अंकसहित तेस्रो स्थानमा छ।
शीर्ष स्थानमा रहेको लिभरपुलको भने २० खेलबाट ४७ अंक छ।
