एजेन्सी – विश्वमा अर्को भाइरसले मानिसको ज्यान लिन थालेको छ।
कोरोना र एचएमपीभीपछि अफ्रिकी देशहरूमा यो भाइरसका कारण धेरैको मृत्यु भएको छ। तान्जानियामा मात्रै ८ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पनि यो नयाँ भाइरसबारे सचेत भएको छ।
चीनबाट उत्पत्ति भएको भनिएको एचएमपीभी भाइरसबारे संन्त्रास भइरहँदा ‘मार्कबर्ग’ नाम दिइएको भाइरस फैलिन थालेको छ। यस भाइरसका कारण तान्जानियामा ८ जनाको मृत्यु भएको हो। यसले अफ्रिकाको रुवान्डामा १५ जनाको ज्यान लिइसकेको छ।
समाचार एजेन्सी एपीको रिपोर्टअनुसार विश्व स्वास्थ्य संगठन पनि मार्कबर्गको नयाँ भाइरसका कारण हुने मृत्युलाई लिएर गम्भीर बनेको छ। उत्तरी तान्जानियामा मारबर्ग भाइरसका कारण आठ जनाको मृत्यु भएको डब्लुएचओले पनि जनाएको छ।
डब्ल्यूएचओका अनुसार मारबर्ग भाइरस इबोलाजस्तै फलफूलको चमेरोबाट उत्पन्न हुन्छ र संक्रमित व्यक्तिको शारीरिक तरल पदार्थ वा दूषित हावाजस्ता सतहहरूसँग नजिकको सम्पर्कबाट अन्य मानिसहरूमा फैलिन्छ।
यो भाइरसले अत्यधिक रक्तस्राव अर्थात् रगतको कमीका कारण मृत्यु हुने गर्दछ। मारबर्ग भाइरसका लागि अहिलेसम्म कुनै आधिकारिक खोप बनिसकेको छैन। डब्ल्यूएचओले तान्जानियामा यो भाइरसको प्रकोपको राष्ट्रिय र प्रान्तीय स्तरको मूल्यांकन राम्रोसँग हुन नसकेको बताएको छ।
तान्जानियाकी राष्ट्रपतिले यो इबोलाजस्तो भाइरस भएको र प्रकोपको घोषणा गरेकी छिन्। स्वास्थ्य मन्त्रीले देशमा कुनै पनि यस्ता केसहरू नभएको बताएको एक हप्तापछि उनको यस्तो भनाइ बाहिरिएको बीबीसीले लेखेको छ।
राष्ट्रपति सामिया सुलुहु हसनले सोमबार एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कागेराको उत्तर-पश्चिमी क्षेत्रमा मारबर्गको एक केसको पुष्टि गरेका बताइन्।
‘हामी विश्वस्त छौं कि हामी यो चुनौतीलाई एक पटक फेरि पार गर्नेछौं,’ सामियाले दुई वर्षअघि तान्जानियामा भएको प्रकोप स्मरण गर्दै यस्तो बताएकी हुन्।


