सिन्धुली- सिन्धुलीको बाटो भएर यात्रा गर्ने यात्रुहरुको प्रमुख कोसेली बनेको छ, जुनार। सिन्धुली जिल्लाको गोलन्जार गाउँपालिका-५ खनियाखर्क बजार जुनार र सुन्तलाले पहेँलपुर भएको छ।
काठमाडौँ– धुलिखेल– सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुले जुनार र सुन्तला किन्ने गरेका छन्। बिपी राजमार्गमा यात्रा गर्ने सवारी साधनका यात्रुहरु जुनार किन्नैका लागि भए पनि केही समय खनियाँखर्कमा विश्राम गर्ने गर्दछन्। यहाँका जुनारले काठमाडौँ र भारतका विभिन्न सहरसम्मको यात्रा गर्छन्।
राजमार्गमा जुनारको कारोबारसमेत राम्रो हुँदा त्यस क्षेत्रका किसान र व्यापारीहरूको जीवनस्तर समेत उकासिएको छ।
सडक नजिकै टहरा बनाएर जुनारका बिक्री कक्ष बनाइएका छन्। खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनभन्दा बढी जुनार व्यवसायी छन्।
किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीय बताउँछन्। अहिले भने जुनारको सिजन सकिन लागेकाले खनियखर्कमा १२० देखि १४० रुपैयाँ प्रतिकिलोसम्ममा जुनारको कारोबार भइरहेको छ।














तस्बिर : नेपाल फोटो लाइब्रेरी


