काठमाडौँ – अष्ट्रेलियाले नेपाललाई १४० रनको विजयी लक्ष्य दिएको छ।
आइसिसी यू-१९ महिला टी २० विश्वकपअन्तर्गत समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियाले पूरै ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको हो। नेपालले जवाफी ब्याटिङ थालेको छ।
मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गरेको हो।
नेपालकी कप्तान पूजा महतोले अष्ट्रेलियाको सुरुवाती ३ विकेट लिँदै राम्रो सुरुवात दिलाएकी थिइन्। तर काओइमहे ब्रे र एलेनोर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गर्दै स्कोर उकासे। ब्रेले सर्वाधिक ४५ रन बनाउँदा लारोसाले ३१ रन जोडिन्।
नेपालका लागि कप्तान पूजाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिइन्। सिमाना केसीले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिइन्।
समूह डी मा यसअघि बंगलादेश र स्कटल्याण्डसँग पराजित भएको नेपालका लागि सुपर सिक्स पुग्न अष्ट्रेलियालाई पराजित गर्नुपर्ने हुन्छ। अष्ट्रेलियासँग पराजित भएमा भने नेपाल समूह चरणबाटै बाहिरिनेछ।


