एजेन्सी – भारतको महाराष्ट्रको जलगाउँमा बुधबार साँझ एउटा ठूलो दुर्घटना भएको छ।
लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि भएको भागदौडमा ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी यात्री घाइते भएका छन्।
छेउको ट्र्याकमा कर्नाटक एक्सप्रेस आइरहँदा रेलबाट हाम फालेका मानिसहरूलाई कर्नाटक एक्सप्रेसले किचेको हो। अफवाह सुनेपछि करिब ३० देखि ४० जनाले रेलबाट हाम फालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो दुर्घटना जलगाउँको पचोरा तहसीलको परधाडे गाउँ नजिक भएको हो। पुष्पक एक्सप्रेस मुम्बई सीएसटीतर्फ जाँदै थियो।
एक वरिष्ठ रेल अधिकारीले भने,’हट एक्सलु वा ‘ब्रेक-बाइन्डिङ’ का कारण पुष्पक एक्सप्रेसको कोचभित्र स्पार्क निस्किएको थियो। जसका कारण यात्रुहरू डराएर चेन खिच्ने र केही हाम फाले। त्यही समयमा अर्को रेल छेउछाउको ट्र्याकबाट गुज्रिरहेको थियो।’
नासिक डिभिजनल कमिश्नर प्रवीण गेडामले दुर्घटनापछि एसपी, कलेक्टर र अन्य अधिकारीहरू घटनास्थलमा पुगेका बताए। घटनास्थलमा ८ वटा एम्बुलेन्स पुगेका थिए। हालसम्म ८ जनाको मृत्यु भइसके पनि यो संख्या अझै बढ्न सक्ने उद्धारमा खटिएका अधिकारीले बताएका छन्।


