काठमाडौँ- स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन्। शनिबार काठमाडौँमा सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अभिवेशनबाट काफ्लेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
हेल्थ आवाज अनलाइनका सम्पादक काफ्लेको नेतृत्वमा बनेको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मेडिकल पत्रका बुद्धि कटेल निर्विरोध चयन भए। दुई जना उपाध्यक्षमा हुने व्यवस्था रहेको कार्यसमितिको एक जना उपाध्यक्षमा महेश तिमल्सिना विजयी भए। अर्को उपाध्यक्ष पदमा भने हेल्थ वाणीकी सञ्जिता खनाल र राससका शरद शर्माको बराबर मत आएपछि एक-एक वर्षको कार्यकाल आलोपालो गर्ने सहमति भएको छ। पहिलो कार्यकाल खनालको भागमा परेको छ।
महासचिव पदमा नयाँ पत्रिका दैनिकका शिवहरि घिमिरे निर्वाचित भए। अभिलेख डटकमकी ज्योति अधिकारी सचिवमा निर्वाचित भइन्। गोरखापत्र अनलाइनकी सिर्जना खत्री कोषाध्यक्ष बनेकी छन्।
सदस्यहरूमा उपेन्द्र खड्का, सृजना कार्की, सुरेश खनाल, सन्तोष राई, कृष्ण आचार्य, भोला अधिकारी, लक्ष्मी चौलागाईँ र विना न्यौपाने निर्विरोध निर्वाचित भए।
अधिवेशनले वासुदेव न्यौपानेलाई लुम्बिनी प्रदेश संयोजक, वीरबहादुर तामाङलाई बागमती प्रदेश, मोहसिन अलि मियालाई गण्डकी प्रदेश संयोजकमा चयन गरेको छ। यस्तै तुलसा घिमिरे प्रवास संयोजक बनेकी छन्।
यसअघि मञ्चको अध्यक्षमा सरोज ढुंगेल थिए। कार्यसमितिको पदावधि दुई वर्षको हुने विधानमा व्यवस्था छ।


