काठमाडौँ – सुपरकोपाको फाइनल भिडन्तको एक क्लासिकोमा ५-२ को जित निकालेको बार्सिलोनाको पुरुष टिमको चर्चा सेलाउन नपाउँदै यो प्रतियोगिताको महिलातर्फत पनि उस्तै नतिजा निकालेको छ।
आइतबार साँझ सकिएको सुपरकोपा फेमिनाको फाइनल खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि ५-० शानदार जित निकाल्दै उपाधि उचालेको छ।
स्पेनको बुटार्क स्टेडियममा भएको फाइनल खेलमा बार्सिलोनाले फराकिलो नतिजासहित उपाधि उचाल्ने क्रममा चार खेलाडीले पाँच गोल गरे।
रियलविरुद्ध निकै आक्रामक खेल देखाएको बार्सिलोनाले पहिलो गोल गर्न भने ३१ औं मिनेट लगाएको थियो। त्यसको लगत्तै ३७ औँ, ४५+४ मिनेटमा गरी बार्सिलोनाले रियलमाथि पहिलो हाफमा ३-० को अग्रता बनायो।
दोस्रो हाफमा पनि रियलको पोस्टमा बार्सिलोनाको आक्रमण रोकिएन। ६२ र ८५ औं मिनेटमा थप दुई गोल गरेपछि रियल सहजै पराजित भयो।
योसँगै बार्सिलोनाले लगातार चौथो पटक (जम्मा ५ पटक) यो उपाधि हात पार्न सफल भयो।


