काठमाडौँ – त्रिकोणात्मक महिला टी २० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले पहिलो पटक नेदरल्यान्ड्ससँग खेल्न लागेको हो।
नेपाली टोलीमा यू १९ विश्वकप खेलेर फर्किएका पूजा महतो र अलिसाकुमारी यादव छन्। यस्तै, मनीषा उपाध्याय र ईश्वरी विष्टले पनि पहिलो रोजाइको टोलीमा स्थान बनाएका छन्।
सिरिजमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डको सहभागिता छ। सिरिज माघ २५ गतेसम्म सञ्चालन हुनेछ।
यस्तो छ नेपाली टिमः
शृंखलाका लागि घोषित नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षत्री, सीता राना मगर, पूजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिसा कुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र इश्वरी विष्ट छन्।


