काठमाडौँ- रामजी ज्ञवालीको निर्देशनमा तयार भएको डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ले उत्कृष्ट सर्ट फिल्मको अवार्ड जितेको छ।
छैटौँ कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘रित्तो गाउँ’लाइ उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको अवार्ड प्रदान गरिएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘रित्तो गाउँ’का निर्माता आनन्द शर्मा वाग्लेलाई अवार्ड प्रदान गरी सम्मान गरेका थिए। शनिबार चलचित्र विकास बोर्डमा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको हो।
फिल्म फेस्टिभलमा ४७ देशका फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री र चलचित्रहरू देखाइएको थियो। नेपालबाट छानिएका १० वटा सर्ट फिल्ममध्ये ‘रित्तो गाउँ’ उत्कृष्ट ठहरिएको भन्दै आयोजकले आफूहरूलाई अवार्ड प्रदान गरेको निर्देशक रामजी ज्ञवालीले जानकारी दिए।
‘यो खुसी यहाँहरूसँग बाँड्न पाउँदा म अत्यन्तै गौरवान्वित छु। अवार्डले थप जिम्मेवार भएर काम गर्ने हाम्रो सम्पूर्ण टिमलाई प्रेरित गरेको छ,’ निर्देशक ज्ञवालीले भने।
‘रित्तो गाउँ’मा युवा पलायनका कारण ग्रामीण क्षेत्रमा निर्मित समस्याहरूको कथा छ। गत वर्ष निर्माण भएको ‘रित्तो गाउँ’ले विभिन्न कार्यक्रमहरूमा विशेष शो भइरहेको छ।
त्रिविका प्राध्यापक उद्धव सिग्देलको नेतृत्वमा भएको अनुसन्धानमा आधारित ‘रित्तो गाउँ’मा वाग्ले, कुनाल कायल, प्रेम भुर्तेल र नारायण कँडेल निर्माता हुन्।

