बर्दिबास – महोत्तरीमा अचानक भैँसीहरू मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्।
अज्ञात रोगका कारण बर्दिवासस्थित किसाननगर, कृष्णपुरलगायत ठाउँमा धमाधम भैँसी मर्न थालेका हुन । किसाननगरका स्थानीय भैँसीपालक किसान शेखर कार्कीका अनुसार केही दिनयता भैँसी मर्न थालेका हुन्।
पाँच दिनभित्र मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैँसी मरिसकेका छन्। केही किसानहरूका दुहुनो भैँसी नै मरेका छन् ।
यसअघि हनुमान चोकमा पनि किसानको भैँसी मरेको भेटिएको थियो । भैँसीहरूमा रोगको लक्षण नै नदेखिएको र धमाधम मर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् ।
भैँसीहरू मरेका विषयमा किसानहरूले बर्दिबास नगरपालिकाको कृषि शाखालाई जानकारी गराइसकेका छन्। तर नगर पशु स्वास्थ्य शाखाले भैँसीहरु महामारीको कारण नभई कुनै खानामा विषादी भएको कारण मरेको हुन् सक्ने अनुमान गरेको छ ।
‘अहिलेसम्म कुनै त्यस्तो महामारीको लक्षण देखिएको छैन,’ पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खड्काले भने, ‘हामीलाई यो विषयमा किसानहरूले जानकारी गराएका थिए, खानामा विषादी भएको हुन् सक्छ ।’ यद्यपि, यसबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।


