फाप्ला- धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दशरथचन्द एकेडेमी बैतडीले सान्त्वना जित निकालेको छ। सान्त्वना जित निकाल्ने क्रममा बैतडीले क्रिकेट एक्लेन्स सेन्टर काठमाडौँलाई १६ रनले हरायो।
जितका लागि पाएको १६१ रनको लक्ष्य पछ्याएको काठमाडौँ १९.४ ओभरमा एक सय ४४ रनमा अलआउट भयो। जसमा राज शाहले अविजित ३७, दिपेन्द्र रावतले ३२, सुभ कङ्साकारले २६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। बलिङतर्फ बैतडीका सलाउद्दिन खानले ५, दिवान पुनले ३ विकेट लिए।
यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनायो। यस टोलीका दिवान पुनले ४३, वसन्त खत्रीले ३२, अमरसिंह रौटेलाले २९ रनको योगदान गरे। काठमाडौँका सूर्य तामाङ र दिपेन्द्र रावतले २/२ विकेट लिए।
बैतडीका दिवान पुन प्लेयर अफ द म्याच चुनिए। उनले नगद १० हजारसहित ट्रफी पाए। यसअघि खेलेका दुवै खेल हारेको बैतडीले पहिलो जित दर्ता गरेको छ। बैतडी अङ्क तालिकाको तेस्रो स्थानमा छ। तीन खेलबाटै एक खेल मात्रै जितेको काठमाडौँ पुछारमा छ।
नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ।
धनगढी र सुदूरपश्चिम प्रदेशमा क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ट्रफी पाउनेछन्।
गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन्।
