बुटवल – पाल्पामा भाडा नदिएको भन्दै घरबेटीले एक युवकको हत्या गरेका छन्।
तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले घरभाडा नदिएको निहुँमा डेरामा बस्दै आएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका प्रहरी अनुसन्धानबाट खुलेको हो।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा १४ रुपैयाँ घर भाडा नदिएको निहुँमा हँसिया प्रयोग गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुनिल मल्लले बताए । बुढाथोकी ६ महिनादेखि विष्टको घरको एउटा कोठामा बस्दै आएका थिए ।
मासिक पाँच सय रुपैयाँ तिर्ने सहमतिमा बुढाथोकी उक्त घरको एउटा कोठमा बस्दै आएका थिए। उनले १४ सय रुपैयाँ तिर्न बाँकी हुँदा घरबेटीसँग झगडा भएको र सोही क्रममा घरबेटी विष्टले हँसिया प्रयोग गरी बुढाथोकीको हत्या गरेका थिए।
बुढाथोकीले मजदुरीको काम गर्दै आएका थिए । प्रहरीका अनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका थिए । मृतकको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको थियो ।
सोही आधारमा हिजो घरबेटीलाई पक्राउ गरी अनुसन्धान गर्दा हत्याको गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
उक्त घरमा विष्ट र बुढाथोकी मात्रै बस्ने गरेका थिए। विष्ट दैनिक मदिरा सेवन गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । विष्टलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


