काठमाडौँ- भारतको नयाँदिल्ली विधानसभामा भाजपाले बहुमत ल्याएको छ। ५ फेब्रुअरीमा ७० सिटका लागि भएको विधानसभा निर्वाचनमा भाजपाले ४८ सिट जितेर सरकार बनाउने तयारी थालेको हो। दिल्लीमा सरकार बनाउन ३६ सिट आवश्यक हुन्छ।
भारतीय जनता पार्टी (भाजपा)को निकटतम प्रतिस्पर्धी बनेको आम आदमी पार्टी (आप)ले २२ सिटमा सीमित भएको छ। कांग्रेसले दिल्लीका कुनै पनि सिटमा जित त निकाल्न सकेन नै, सम्मानजनक मतसमेत पाएन।
भाजपाको जितसँगै अब दिल्लीमा सरकार बनाउने तयारीसमेत थालिएको छ। यसअघि सरकार बनाएको आम आदमी प्रतिपक्षमा पुगेको छ। भाजपा २७ वर्षपछि दिल्लीको सत्तामा फर्किएको हो।
सन् १९९८ मा दिल्लीमा भाजपाकी सुष्मा स्वराज मुख्यमन्त्री बनेकी थिइन्। त्यसपछि दिल्लीको सत्ताबाट भाजपा बाहिरिएको थियो। सुष्मा बाहिरिएपछि भाजपाले दिल्लीको सत्ता चलाउन पाएको छैन। अहिले उनै सुष्माकी छोरी बाँसुरी पनि मुख्यमन्त्रीको दौडमा छिन्। भारतको पूर्वविदेशमन्त्रीसमेत रहेकी सुष्मा स्वराजको ६७ वर्षको उमेरमा सन् २०१९ अगस्ट ६ मा निधन भएको थियो।
चुनावमा भाजपा उम्मेदवार प्रवेश सिंहले दिल्लीका पूर्वमुख्यमन्त्रीसमेत रहेका आम आदमीका अरविन्द केजरीवाललाई हराएका छन्। साहिब सिंह सन् १९९६ बाट १९९८ सम्म बीजेपीबाट दिल्लीको मुख्यमन्त्री भएका थिए। उनै साहिबका छोरा ४७ वर्षका प्रवेशले केजरिवाललाई हराउन सफल भएका छन्। उनीहरुको मतान्तर ४ हजार ८९ छ। प्रवेशले ३० हजार ८८ मत ल्याउँदा केजरीवालले २५ हजार ९९९ मत पाए।
प्रवेशले सन् २०१३ मा दिल्लीको मेरौली चुनाव क्षेत्रबाट चुनाव जितेका थिए। सन् २०१४ र २०१९ मा उनी पश्चिम दिल्लीको चुनाव क्षेत्रबाट भारी मतले लोकसभा सांसद निर्वाचित पनि भएका थिए। ‘केजरिवाल हटाऔं, देश बचाऔँ’ उनको चुनावी नारा थियो। केजरिवाललाई हराउन सफल भएसँगै आगामी मुख्यमन्त्रीमा उनको नामका विषयमा बहस हुन थालेको छ।
सन् २०१५ मा भएको दिल्ली चुनावमा ७० सिटमा आमले ६७ स्थान जितेको थियो। सन् २०१३ बाट राजनीतिमा आएको यो पार्टीले सन् २०२० को पछिल्ल्लो चुनावमा ६२ सिट ल्याएको थियो।
२७ वर्षपछि दिल्लीको मुख्यमन्त्रीमा बहुमत बीजेपीले तय गरेका व्यक्ति आउने तय छ। बीजेपीबाट मुख्यमन्त्री बन्नेहरूको सूचीमा स्वराज र प्रवेशसँगै अरु पात्रहरू पनि आउने क्रम जारी छ। इकोनोमिक टाइम्सका अनुसार दुष्यन्त गौतम, हरिश खुराना, स्मृति इरानी पनि मुख्यमन्त्रीको दौडमा छन्।
मुख्यमन्त्रीको अन्तिम टुंगो भने भाजपाको केन्द्रीय संसदीय बोर्डले लगाउनेछ।


