मनहरी – हेटौँडामा पछिल्लो समय खानेपानीको मिटर चोरीको घटना बढ्न थालेको छ।
डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरू चोरी भएका छन् । घरको कम्पाउण्डभित्रै जडान गरिएका मिटर चोरी भएका छन्।
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाका अनुसार गत पुसदेखि मिटर चोरी हुन थालेको हो । उपभोक्ताहरूले ब्रासवडी मिटर जडान गरेका छन् । एउटा मिटरभित्र करिब आधा केजी पितल हुने गर्छ । उक्त पितल बिक्री गर्न खानेपानीको मिटर चोरिएको हुनसक्ने अनुमान बोर्डले गरेको छ ।
मिटरमा पाइने पितल बजारमा रु आठ सयसम्ममा बिक्री हुने गर्छ । हाल दैनिक एकदेखि तीनवटासम्म मिटर चोरी हुने गरेको छ । खानेपानीको मिटर चोरीको घटना मुख्यगरी हेटौँडा उपमहानगरपालिका–२, ४ र ५ नम्बर वडामा भइरहेको बोर्डले जनाएको छ ।


