वासिंटन डीसी- अमेरिकी अर्बपति एलोन मस्कले चार वर्षीय छोरालाई अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको भ्रमण गराएका छन्।
अमेरिकी बहुराष्ट्रिय अटोमोटिभ तथा हरित ऊर्जा कम्पनी टेस्ला र खोज कम्पनी स्पेस एक्सका मालिक मस्कले मंगलबार चार वर्षीय छोरा ‘एक्स एस ए ट्वायल’लाई अमेरिक राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालयको भ्रमण गराएका हुन्।
मस्कले अमेरिकी सरकारको खर्च कटौती गर्ने योजनामा राष्ट्रपति ट्रम्पलाई सघाइरहेका छन्। राष्ट्रपतिको कार्यालय ओभल अफिसमा पुगेका एक्स एस ए ट्वायलले गतिविधिका तस्बिर विभिन्न सञ्चार माध्यमले सार्वजनिक गरेका छन्। चार वर्षीय बालक बेलाबेला अनुहारका विभिन्न हाउभाउ प्रकट गरिरहेका, नाक चलाइरहेका र आफ्नो बाबु मस्कको काँधेकुरी गरिरहेका देखिन्छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मस्कका छोराको प्रशंशा गरेका छन्। ‘यी एक्स हुन्। यीसँग उच्च स्तरको आईक्यु प्रतिभा छ,’ ट्रम्पले ओभल अफिसमा मस्कको कान्छो छोराको प्रशंशा गर्दै भनेका छन्।
कसरी राखियो विचित्रको नाम?
४ वर्षअघि एलोन मस्क र उनकी पत्नी ग्रिम्सले नवजात शिशुको नाम घोषणा गरे धरैले चासो दिएका थिए। उनीहरूले नाम त घोषणा गरे। तर कसरी उच्चारण गर्ने भन्नेमा धेरैलाई तनाव भयो।
मस्कका छोराको नाम उच्चारण गर्न पनि उनी उनकी पत्नीले नै सिकाउन परेको थियो। उनको नामको स्पेलिङ X Æ A-12 थियो। यसलाई उच्चारण गर्ने तरिकाका बारेमा धेरैले आआफ्नै अनुमान गरेका थिए। नाम उच्चारणमै आम मान्छेलाई अप्ठेरो परिरहेको अवस्थामा यसको अर्थ बुझ्ने सामर्थ्य धेरैमा थिएन।
क्यानाडाली संगीतकार क्लेयर एलिस बाउसरले Æ लाई इल्भेन (लोककथाको काल्पनिक पात्र)को छोटकरी रूप भनेका थिए। यसलाई आजभोलि कृत्रिम बौद्धिकताका लागि छोटकरी रूप मान्न थालिएको छ।
‘यो केवल एक्स हो, अंग्रेजी अल्फाबेट। त्यसपछि एआई भन्ने हो। ‘ए’ आर्टिफिसियल (कृत्रिम) र ‘आई’ले (इन्टेलिजेन्स)बुझाउँछ,’ मस्ककी पत्नी ग्रिम्सले इन्स्टाग्राममा सोधिएका प्रश्नको जवाफ दिँदै चार वर्षअघि लेखेकी थिइन्। यो नामको पछि पनि थपिएको छ- A-12।
नामको अर्थ त ग्रिम्सले खुलाइदिइन्। तर यसलाई उच्चारण कसरी गर्ने? पोडकास्ट होस्ट जो रोगनसँग कुराकानी गर्दै मस्कले यसको उच्चारण गर्ने तरिका पनि खुलाएका थिए।
‘मेरो मतलब यो केवल एक्स हो, अंग्रेजी अल्फाबेट। त्यसपछि Æ को उच्चारण ‘एस’। र त्यसपछि ए-ट्वायल। ए-ट्वायलमा चाहिँ मेरो योगदान छ,’ उनले भनेका छन्। ए-१२ विमानबाट लिइएको नाम हो।
मंगलबार ओभल अफिसमा मस्क र छोरा, साथमा ट्रम्प पनि














