काठमाडौँ – जुड बेलिङ्गघमले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको रियल मड्रिडलाई ठूलो धक्का लागेको छ।
गएराति भएको खेलमा रियलले ओसासुनासँग उसकै मैदानमा १-१ को बराबरी खेलेको छ।
बेलिङ्गघमले पहिलो हाफ (३९ औँ मिनेट) मा रातो कार्ड पाएपछि १-० को अग्रता बनाइरहेको रियलले खेल बराबरीमा टुंग्याउन बाध्य भयो। १५ औं मिनेटमा किलियन एम्बाप्पेले शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर खेलको म्यान अफ द म्याच भएका एन्टी बुढामिरले ५८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
दोस्रो हाफको अन्त्यतिर रियलका लुका मोड्रिच र एम्बाप्पेले गोल गर्ने सुनौलो अवसर खेर फालेपछि रियलले ला लिगाको २४ औं खेलमा २ दुई अंक गुमाउन बाध्य भयो। यद्यपि ५० अंकसहित ऊ लिगको शीर्ष स्थानमै छ। रियलको यो लगातार दोस्रो बराबरी हो।
त्यस्तै यता शीर्ष स्थानमा उक्लिने सम्भावना भएको अर्को बलियो क्लब एट्लेटिको मड्रिड पनि सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ। उसलाई पनि शीर्ष स्थानमा उक्लिन रातो कार्ड नै बाधक बन्यो। पाब्लो ब्यारिसले खेल सुरु भएको सातौँ मिनेटमै मैदान छाड्न बाध्य हुनुपरेको थियो। घरेलु मैदानमै भएको खेलमा एट्लेटिको १-१ को बराबरी गर्दै अंक बाँड्न बाध्य भयो।
इगो आसपासले ६८ औं मिनेटमा गोल गर्दै सेल्टालाई अग्रता दिलाएका थिए। तर नर्वेजियन स्ट्राइकर अलेक्जेन्डर सोलार्थले ८१ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा ल्याए पनि टोलीको हार भने टरेन ।
यी दुई बलिया क्लबको बराबरीले तेस्रो स्थानमा रहेको अर्को क्लब बार्सिलोनालाई भने राहत मिलेको छ। २३ खेलबाट ४८ अंक बनाएको बार्सिलोनाले मंगलबार बिहान हुने खेलमा रायो भालोकानोसँग घरेलु मैदानमा जित निकाल्न सके शीर्ष स्थानमा पुनरागमन गर्न सक्नेछ।


