काठमाडौँ – किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ का लागि छनोट भएको छ ।
बिहीवार बिहान सम्पन्न प्लेअफको दोस्रो लेगमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै रियलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । प्लेअफ खेलमा समग्र ६-३ को जित हासिल गर्दै रियलले अन्तिम १६ मा स्थान बनाएको हो ।
पहिलो लिगमा रियल ३-२ ले विजयी भएको थियो । रियलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीका लागि निको गोन्जालेजले गोल गरे ।
खेलको चौथो, ३३ औं र ६१औं मिनेटमा एमबाप्पेले आफ्नो ह्याट्रिक पूरा गरेका थिए । निर्धारित समयमा ३-० को सहज स्थितिमा रहेको रियलले दोस्रो हाफको इन्ज्युरी समयमा गोल खाएको थियो।
सिटीका लागि दोस्रो हाफको इन्ज्युरी समयमा गोन्जालेजले गोल गरेका थिए । यसका साथै अन्तिम १६ मा रियलले स्पेनिस प्रतिद्वन्दी एट्लेटिको मड्रिड वा जर्मन क्लब लेभरकुसेनको समना गर्ने भएको छ ।
यता फ्रान्सेली क्लब पीएसजीले भने अर्को फ्रान्सेली क्लब ब्रेस्टलाई ७-० गोलअन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का बनाएको छ। यो सँगै पीएसजीले समग्रमा १०-० को फराकिलो अग्रता कायम राख्न सफल भयो। पीएसजीको जितमा सातै जनाले गोल गरे।
यस्तै इटालियन क्लब युभेन्टसलाई पाखा लगाउँदै पीएसपी लिगको अन्तिम १६ मा पुगेको छ। गएराति नै भएको खेलमा पीएसभीले ३-१ गोलअन्तरले जित निकाल्न सफल भयो। अघिल्लो लेगमा २-१ ले हारेको उसले अप्रत्याशित जित निकाल्न सफल भयो। समग्रमा ४-३ गोलअन्तरले पीएसभी विजयी भयो।
त्यस्तै स्पोर्टिङलाई बराबरीमा रोक्दै जर्मन क्लब बोरुसिया डर्टमन्डले पनि अन्तिम १६ मा स्थान बनाएको छ। अघिल्लो लेगमा ३-० ले विजयी भएको डर्टमन्डले गएराति भने गोलरहित बराबरी खेलेको हो।
