बनेपा – काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
तेमाल गाउँपालिका–३ कुँडुवाल खोलामा धादिङबाट जन्ती पुर्याएर फर्किएको ना ४ ख ८८१७ नम्बरको बस बिहीबार बिहान पौने ६ बजे दुर्घटना भएको हो। मोडमा ब्याक गर्ने क्रममा बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा बसका गाडीधनी तेमाल–१ भैंसेपानीका ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ। बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। उनलाई तत्काल धुलिखेल अस्पताल पठाइएको छ।
रिजर्भ सकेर बिहीबार बिहान नियमित क्युमा लाग्न हिँडेको अवस्थामा बस दुर्घटनामा परेको तेमाल–१ का वडाध्यक्ष इन्द्र अधिकारीले जानकारी दिए। घाइते दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार दुर्घटनास्थल पाँचखाल प्रहरी चौकीबाट करिब १० किलोमिटर पश्चिममा पर्छ।


