काठमाडौँ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले ओमानको भ्रमणका क्रममा इरानका परराष्ट्र मन्त्री अब्बास अराग्चीसँग विपीन जोशीको अवस्थाबारे छलफल भएको बताएकी छन्।
बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले इरानका परराष्ट्रमन्त्रीले विपीन जोशीको बारेमा गम्भिर भएर लागेको जानकारी गराएको बताइन्।
‘मैले इरानको परराष्ट्रमन्त्री (अब्बास)सँग पनि कुरा गरें। त्यो कुरा विपीन जोशीको रिहाइबारेमा नै मूलरूपमा छलफल भएको थियो। उहाँले पनि म प्रयास गर्छु। तर अझै पनि तपाईहरुको र थाईको एकजनाको अवस्थाको बारेमा राम्रो जानकारी आएको छैन,’ उनले थपिन्, ‘केही सूचनाहरु मागेका छौँ। गम्भीर भएर लागेका छौँ भन्नु भएको छ। यही कुरा कतारको प्रतिनिधिहरुले पनि गर्नु भएको थियो।’
यसको साथै, उनले ओमानसँग कागजको बिक्रीलाई व्यावसायिक गर्ने र पर्यटकको क्षेत्रलाई सुधार गर्ने बारेमा दुईवटा एमओयुहरु हस्ताक्षर भएको पनि बताइन्।
‘हामीले ओमानसँग दुईवटा एमओयुहरु पनि साइन गरेका छौँ। एउटा हाम्रो कागजहरुलाई कसरी वक्री र व्यवसायिक गर्ने भन्ने कुरामा आउने दिनमा काम हुन्छ होला र अर्को पर्यटकको क्षेत्रमा पनि एमओयू गरेका छौँ,’ उनले थपिन्, ‘पर्यटकको क्षेत्रमा नेपालसँग एकदमै नजिक भएर काम गर्न मन भएको कुरा पनि राख्नु भएको छ।’
यसको साथै डाक्टर, इन्जिनियरहरु जस्तो मानिस पनि बाहिर गएर श्रमिकको रुपमा काम गर्नुपर्ने अवस्था पनि थाहा भएको छ। यसबारे पनि श्रम मन्त्रालयसँग बसेर कुरा गर्ने उनको भनाई छ।
यस्तै, उनले घरेलु कामदारको रुपमा महिलाहरु जाने विषयलाई पुन विचार गरेर एउटा टिम बनाएर फिल्ड रिसर्च गरेर नै काम गर्ने पनि बताइन्।
परराष्ट्रमन्त्री ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओमान भ्रमणका लागि गएकी थिइन्।


