२०८३ साउन १३ गते बुधबार

सरकारी सेवा डिजिटल र प्रभावकारी बनाउन, ‘डाटा एक्सचेञ्ज प्लेटफर्म’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ९
nagarik_app

काठमाडौँ- विद्युतीय शासनलाई शासकीय व्यवस्थामा नविनतम उपगमका रुपमा लिइन्छ। शासन व्यवस्थालाई निष्पक्ष, तटस्थ र पारदर्शी बनाउनुका साथै सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउनका लागि पनि विद्युतीय शासन अपरिहार्य बनेको छ।

नेपालको शासकीय अभ्यासमा विद्युतीय उपकरणको उपयोग हुन थालेको करिब पाँच दशक भयो। नेपालको राष्ट्रिय जनगणना २०२८ मा पहिलो पटक आइबीएम १४०१ कम्युटरको प्रयोग भएको थियो। त्यसयता शासनमा कम्युटरीकृत प्रणालीको उपयोगले पारदर्शीता र कार्यकुशलता अभिवृद्धि गर्न सकिन्छ भन्ने तथ्य व्यवहारिक रुपमै स्थापित भइसकेको छ। पछिल्लो समय नेपालको सार्वजनिक प्रशासनमा विद्युतीय उपकरणहरुको प्रयोगले महत्व पनि पाउँदै गएको पाइन्छ।

विद्युतीय शासनलाई बढावा दिनका लागि सरकारद्वारा गठित ‘ई–गभर्नेन्स बोर्ड’ले मुलुकको डिजिटल सेवा प्रणालीलाई प्रभावकारी बनाउन ‘डाटा एक्सचेञ्ज प्लेटफर्म’को अवधारणा अघि सारेको छ। नागरिकलाई सार्वजनिक सेवा सहज रुपमा उपलब्ध गराउने उद्देश्यले उक्त अवधारणा अघि सारिएको बोर्डले जनाएको छ।

हाल छुट्टाछुट्टै सरकारी सेवा लिन पटक–पटक व्यक्तिगत विवरण पेस गर्नुपर्ने बाध्यता हटाउन र सेवाप्रवाहलाई सरलीकरण गर्न उक्त अवधारणा अघि सारिएको हो। डाटा एक्सचेञ्ज प्लेटफर्म निर्माणपछि सेवाग्राहीले सरकारी सेवा लिँदा पटक–पटक व्यक्तिगत विवरण बुझाउनुपर्ने बाध्यता रहने छैन भने यसबाट सेवाप्रवाह छिटो छरितो हुनुका साथै, पारदर्शी र बढी विश्वसनीयता वृद्धि हुनेछ।

ई–गभर्नेन्स बोर्डका उपसचिव डा कमल पौडेल हाल विद्युतीय सुशासनको ब्लुप्रिन्ट निर्माण भई छलफलका क्रममा रहेको बताउँछन्। उक्त ब्लुप्रिन्टको मुख्य उद्देश्य सूचना तथा प्रविधिको प्रयोगबाट सरकारी काम कारबाही तथा सेवा प्रवाहको दक्षता अभिवृद्धि गर्दै थप प्रभावकारी, पारदर्शी र जवाफदेशी बनाउनु रहेको छ।

नागरिकका वैयक्तिक तथा जैविकीय विवरण एकपटक मात्रै प्रविष्ट गर्दै झन्झटरहित सेवा प्रवाह गर्न तथा सेवा प्रवाहमा सरलीकरणका लागि डिजिटल नेपालका विभिन्न पहललाई एकीकृत ढाँचामार्फत विकास गर्न विद्युतीय सुशासन ब्लुप्रिन्ट तयार भइसकेको छ। ‘डिजिटल परिवर्तनले समाजमा अन्तरनिहित सम्भावनालाई प्रस्फुटन गर्न मद्दत गर्छ, यसले नागरिकलाई व्यक्तिगत रुपमा र निजी, उद्यमी तथा सार्वजनिक क्षेत्रलाई व्यावसायिकरुपमा सक्षम, पारदर्शी र जवाफदेही बनाउँछ’, बोर्डले भनेको छ।

हाल सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनका लागि नागरिक एप विकास गरी कार्यान्वयनमा छ। तर अझै पनि विभिन्न संस्थाबीचमा डाटा आदानप्रदान सहज रुपमा हुन सकेको छैन। यी सबै समस्या समाधानका लागि डाटा एक्सचेञ्ज प्लेटफर्मको आवश्यकता महसुस गरिएको उनको बुझाइ छ। सबै सरकारी तथा निजी संस्थालाई एउटै डाटा प्रणालीमा एकीकृत गर्ने अवधारणा अनुसार उक्त काम सुरु गरिएको हो।

हाल नागरिक एपले विभिन्न सरकारी निकायसँग छुट्टाछुट्टै प्रणालीमार्फत डाटा आदानप्रदान गर्नुपर्ने बाध्यता छ। यसले सेवा प्रवाह ढिला हुने, प्रणाली असङ्गठित हुने तथा प्रविधिगत रुपमा खर्च बढ्ने समस्या देखिन सक्छ। खास गरी कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष जस्ता संस्थाले नागरिक एपसँग डाटा आदानप्रदान गर्दा आफ्नै छुट्टै मापदण्ड अपनाउनु परेको छ। यसले डाटा साझा गर्ने प्रक्रियामा जटिलता थपेको छ।

उदाहरणका लागि अस्पताल र बीमा कम्पनीबीच स्वास्थ्यसम्बन्धी डाटा आदानप्रदानको सहजता नहुँदा बिरामीको उपचारका क्रममा उसको विगत तथा बीमासम्बन्धी जानकारी लिन कठिन हुने अवस्था छ। त्यसबाहेक एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) को पनि समस्या छ। यसका लागि पनि डाटा एक्सचेञ्ज प्लेटफर्मको आवश्यकता महसुस गरिएको छ।

हाल नागरिक एपले प्रत्येक संस्थासँग छुट्टाछुट्टै एपीआई बनाउनुपर्ने अवस्था छ। यसले प्रणालीलाई सहज बनाउन नसकेको जानकारहरु बताउँछन्। डाटा एक्सचेञ्ज प्लेटफर्म केन्द्रीय डाटा व्यवस्थापन प्रणाली हो। यसले सरकारी तथा निजी संस्थाबीच स्वचालित, सुरक्षित र प्रभावकारी रुपमा डाटा आदानप्रदान गर्न सहयोग गर्नेछ।

एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनीष भट्टराई डाटा एक्सचेञ्ज प्लेटफर्म एक वृहत अवधारणा भएको बताउँछन्। ‘यो विभिन्न प्रणालीलाई एकापसमा जोड्ने वृहत अवधारणा हो, हाल सानो इकाइका रुपमा नागरिक एप सञ्चालनमा छ, यसले विभिन्न निकायलाई डाटा लिन सजिलो भएको छ, वृहत रुपमा डाटा एक्सचेञ्ज प्लेटफर्म निर्माण गर्दा निजी र सरकारी सबैलाई सहज हुन्छ’, उनले भने।

अहिले नागरिक एपबाट करको विवरणदेखि लब्धाङ्कपत्र (मार्कसिट) समेत हेर्न सकिन्छ। एउटै एपबाट धेरै काम गर्न सकिने अवस्था छ। यसलाई अझ राम्रो बनाउन र डाटा आदानप्रदानलाई सहज बनाउन डाटा एक्सचेञ्ज प्लेटफर्मको अवधारणा ल्याइएको हो। ‘डाटा एक्सचेञ्ज विशेष गरी सुशासन र पारदर्शीतासँग सम्बन्धित छ, त्यसबाहेक सहज र प्रभावकारी सेवाका लागि पनि यो आवश्यक छ’, प्रमुख भट्टराईले भने।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटी डाटा एक्सचेञ्ज प्लेटफर्म निर्माणले सबै क्षेत्रलाई फाइदा पुग्ने बताउँछन्।

‘डाटा एक्सचेञ्ज प्लेटफर्म आफैले काम गर्ने होइन, संस्थाहरुले कसरी डाटा लिने र प्रयोग गर्ने भन्नेले अर्थ राख्छ, हाम्रो हकमा तथ्यांक सङ्कलनमा यसले ठूलो सहयोग गर्छ’, उनले भने। उनले राष्ट्रिय तथ्याङ्क कार्यालयले पनि डाटा विश्लेषणमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गर्ने तयारी गरिरहेको जानकारी दिए।

‘आजका दिनमा नीति निर्माणदेखि सेवा प्रवाहसम्मका लागि डाटाले ठूलो काम गर्छ’, उनले भने, ‘यही आवश्यकतालाई महसुस गरी कार्यालयले अबको एक/दुई महिनामा एआईमा आधारित डाटा विश्लेषण गर्ने तयारी भइरहेको छ।’

सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्युतीय सुशासन र व्यक्तिगत डाटा सुरक्षासम्बन्धी कानुन निर्माण गर्ने उल्लेख गरेको छ। विद्युतीय सुशासन ब्लुप्रिन्ट तथा रणनीति तर्जुमा गरी व्यवसायको कार्यप्रक्रिया पुनः संरचना गरिनेछ। विद्युतीय प्रणालीबीच अन्तरआबद्धता कायम गर्न इन्टरनेट तथा डाटा एक्सचेञ्ज प्लेटफर्म निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवा एकै स्थानबाट प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र समेत सञ्चालनमा ल्याइनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ।

डाटा एक्सचेञ्ज प्लेटफर्ममार्फत एकीकृत डाटा मापदण्ड बनाउन सकिन्छ। जसमा सबै सरकारी तथा निजी संस्थाले एउटै साझा मापदण्डमा डाटा आदानप्रदान गर्न सक्छन्। यसमार्फत सबै संस्थालाई एकैपटक एकै ठाउँमा जडान गर्न सकिन्छ। एक पटक उक्त प्लेटफर्ममा आबद्ध भइसकेको संस्थाले तोकिएको डाटा प्रयोग गर्न सक्छन्। त्यसैगरी यसमार्फत नागरिक एपले पनि प्रत्येक संस्थासँग फरक फरक एपीआई बनाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ।

यो प्लेटफर्म निर्माणले सरकारी एजेन्सीबीच समन्वयमा सहज हुनेछ। हाल नेपालमा राष्ट्रिय परिचय पत्र, भन्सार विभाग, आन्तरिक राजश्व विभाग, ट्राफिक व्यवस्थापन, महालेखा नियन्त्रक कार्यालयलगायत निकायले स्वतन्त्र रुपमा डाटा सञ्चालन गर्दै आएका छन्। उक्त प्लेटफर्मको प्रयोगले यी सबै संस्थालाई एकापसमा आबद्ध बनाउनेछ। यसले डाटाको सुरक्षा गर्दै डाटा चोरी, अनधिकृत पहुँच तथा साइबर आक्रमणलाई समेत नियन्त्रण गर्ने अपेक्षा छ।

त्यसैगरी हाल सरकारी संस्थाले निजी कम्पनीसँग डाटा साझा गर्न कानूनी तथा प्रविधिगत चुनौती भोगिरहेको अवस्थामा यसलाई सुरक्षित रुपमा सरकारी डाटासँग जडान गर्ने अवसर मिल्नेछ। सरकारले डिजिटल युगलाई आत्मसात् गर्दै सरकारी सेवा प्रणालीलाई तीव्र, पारदर्शी, तथा सुरक्षित बनाउन यस प्लेटफर्मलाई प्राथमिकता दिएको छ। यो लागू भएपछि सरकारी सेवा प्रवाह छिटो हुने, प्रशासनिक काम सरल हुने र डाटा सुरक्षामा सुधार आउनेछ।

डिजिटल युगमा डाटा र विद्युतीय सुशासन पारदर्शिता, दक्षता, र प्रगतिका मुख्य आधार हुन्। विद्युतीय सुशासन केवल प्रविधि मात्र नभइ शासन पद्धतिको परिवर्तन हो भन्ने अवधारणामा हाल बोर्डले काम गरिरहेको छ। यसको निर्माणपछि नागरिकले मेरो डाटालाई कसले हेर्यो ? कुन समयमा हेर्यो ? लगायतका जानकारी समेत प्राप्त गर्न सक्नेछन्।

विद्युतीय सुशासन सरकारी सेवाको मात्र डिजिटाइजेसन होइन, यो सरकार, नागरिक र व्यवसायबीचको अन्तरक्रियाका लागि पनि भएको बोर्डले जनाएको छ। बोर्डले डिजिटल रूपान्तरणलाई अघि बढाउन विभिन्न स्तम्भको पहिचान गरेको छ, जसमा स्पष्ट शासन ढाँचा, कानुनी सुधार, डिजिटल साक्षरता, र अन्तर्राष्ट्रिय सहकार्यलगायत समावेश छन्।

बोर्डका अनुसार विद्युतीय सुशासन २० प्रतिशत प्राविधिक र ८० प्रतिशत शासकीय मामिलामा आधारित हुन्छ। जस्तै, डाटाबेसहरूको अन्तरसङ्गठनात्मकता सुनिश्चित गर्न कानुनी सुधार र प्रयोगकर्ताको डाटा एक पटक मात्र सङ्कलन गर्ने नीति अवलम्बन गर्दै सेवा सजिलो बनाउने विषय समेत समावेश छन्।

विद्युतीय सुशासनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि र सामाजिक प्रगतिमा ठूलो प्रभाव पार्छ। प्रभावकारी डाटा आदानप्रदानले सार्वजनिक सुरक्षामा सुधार, भ्रष्टाचारमा कमी, पारदर्शितामा अभिवृद्धि र विदेशी लगानीमा वृद्धि गर्न मद्दत पुर्याउँछ।

सरकारले निर्माण गरेको सोह्रौँ योजनामा पनि सङ्घ, प्रदेश र स्थानीय तहबाट प्रवाह हुने सेवालाई छिटो, छरितो, चुस्त तथा प्रभावकारी बनाउन अनुहाररहित र कागजरहित बनाइ विद्युतीय सुशासन प्रवद्र्धन गर्ने, एउटै विवरण एकपटक मात्रै सङ्कलन गर्न आवश्यक कानुनी व्यवस्था गर्ने र अन्तरआबद्धताका लागि डाटा एक्सचेञ्ज प्लेटफर्मको स्थापना तथा सञ्चालन गर्ने उल्लेख छ। त्यसबाहेक डिटिजल अर्थतन्त्र र डिजिटल समाज निर्माणमार्फत स्मार्ट राष्ट्र निर्माणका लागि विद्युतीय सुशासन ब्लुप्रिन्टको व्यवस्था गर्ने विषय समेटिएको छ। यसबाट सरकार नीतिगत रुपमै विद्युतीय सुशासन संस्थागत गर्दै यसको जगमा शासकीय कार्यकुशलता र प्रभावकारिता हासिल गर्न प्रतिबद्ध रहेको देखिन्छ।

उक्त अवधारणा कार्यान्वयनका लागि आगामी दिनमा विद्युतीय सुशासन ब्लुप्रिन्ट निर्माण गरी शासनको विद्युतीय रुपान्तरणको नक्साङ्कन गर्ने र सार्वजनिक निकायको व्यवसाय प्रक्रिया पुनःसंरचनालाई प्राथमिकताका दिएको छ। त्यसबाहेक बोर्डले नागरिक सेवा केन्द्रमार्फत सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल र नियमित बनाउन नागरिक सेवा केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि निर्माण गरी परीक्षणका रुपमा केही स्थानीय तहमा नागरिक सेवा केन्द्र स्थापना गर्दै सम्पूर्ण स्थानीय तहमा जाने गरी काम गर्ने जनाएको छ।

प्रकाशित: २०८१ फाल्गुण ९ गते शुक्रबार ०५:२०
प्रतिक्रिया

थप समाचार

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

एससीटीलाई सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता

काठमाडौँ: नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी...

व्हाट्सएपमा फोन नम्बर बिना कुराकानी गर्ने ‘युजरनेम’ सुविधा आउँदै

काठमाडौँ: मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी सम्पर्क गर्न सक्ने नयाँ ‘युजरनेम’ सुविधा ल्याउने तयारी गरेको छ। कम्पनीले यसका लागि युजरनेमको...

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै

काठमाडौँः उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ कार)को विकासलाई तिब्रता दिएको छ । चीनका विमानन कम्पनीहरूले व्यवहारिक रूपमा प्रयोग गर्न मिल्ने उड्ने कारको विकासमा समय र स्रोतसाधनको...

एआईको तीव्र विकाससँगै ठूलो लगानी गर्दै दक्षिण कोरिया

सियोल, एएफपी। कृत्रिम बौद्धिकता (एआइ) चलाउन आवश्यक साधनहरूको ठूलो मागले दक्षिण कोरियालाई चीनजस्ता प्रतिस्पर्धीहरूविरुद्ध आफ्नो ‘चिप’ उद्योगलाई बलियो बनाउने अवसर दिएको विश्लेषकहरूले बताएका...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना