काठमाडौं– काठमाडौंमा जारी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गतको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई सोझो सेटमा हराएको छ। त्रिपुरेश्वरस्थित राखेपको भलिबल कभर्डहलमा भर्खरै सम्पन्न भएको खेलमा उसले ३–० को सहज जित निकालेको हो।
पहिलो सेटमा राम्रो सुरुआत गरेको श्रीलंकाले प्रतिस्पर्धात्मक खेले पनि अन्तिममा हार बेहोरेको थियो। पहिलो खेलमा उज्जवेकिस्तानले २७–२५ को संघर्षपूर्ण जित निकालेको थियो।
त्यस्तै, दोस्रो सेटमा पनि श्रीलंकाले निकै राम्रो सुरुआत गरेको थियो। तर १५ अंक पुगेपछि श्रीलंकाले लगातार अंक ल्याउन सकेन। यसकारण २५–२० ले श्रीलंकाले हार बेहोरेको हो।
अन्तिम सेटमा भने श्रीलंकाले खेल्नै सकेन। सेटभरी उज्वेकिस्तान हाबी रह्यो। यसकारण उज्वेकिस्तानले २५ अंक पुरा गरेर खेल जित्दा श्रीलंकाको हातमा १४ अंक मात्र रहेको थियो।
यो जितसँगै उज्वेकिस्तानले समूह बीमा तीन अंक जोडेको। यो अंकले उसलाई सेमीफाइनलको यात्रामा नजिक पुर्याएको छ।


