काठमाडौँ- केपी ओली एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
सोमबार भएको खेलमा केपी ओली एफसीले न्यूरोड टिम(एनआरटी) र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन्।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोश्रो खेलमा केपी ओली एफसीले एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्यो। केपी ओली एफसीका तर्फबाट एकमात्र निर्णायक गोल खेलको ६३ औ मिनेटमा सुरजज्यू ठकुरीले गरेका थिए।
त्यस्तै सोमबार नै भएको पहिलो खेलमा आर्मीले पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो। आर्मीका नवयुग श्रेष्ठले खेलको १९औं मिनेट र दिनेश हेम्जनले ८१औं मिनेटमा गोल गरेका थिए।
प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबिच हुनेछ।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्।


