वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार र सरकारी दक्षता विभागको प्रमुख एलोन मस्क बुधबार पहिलो मन्त्रिपरिषद् बैठकमा सहभागी भए।
उक्त भेटमा उनले आफूलाई प्राविधिक सहयोगी भएको बताउँदै भने, ‘सरकारी कम्प्युटर प्रणालीलाई सुधार गर्न कडा मिहिनेत गरिरहेको छ ।’ मस्कले यही कामका कारण ज्यान मार्ने धम्की आइरहेको पनि बताए । मस्क क्याबिनेट सदस्य होइनन् र कुनै पदमा निर्वाचित भएका छैनन्।
यसैबीच सीएनएन रिपोर्टअनुसार बेलायती प्रधानमन्त्री केयर स्टारर आज अमेरिका भ्रमणमा जाने भएका छन् । यहाँ उनले राष्ट्रपति ट्रम्पसँगको भेटमा रुस युक्रेन युद्धबारे कुरा गर्नेछन् । मिडिया रिपोर्टका अनुसार बेलायती प्रधानमन्त्रीले युद्धविराम सम्झौताअन्तर्गत युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन ट्रम्पलाई मनाउन प्रयास गर्नेछन्।
यसअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन पनि ट्रम्पलाई भेट्न अमेरिका पुगेका थिए । यहाँ एक अन्तर्वार्तामा उनले ट्रम्पलाई युक्रेन युद्धमा रुससँग हतारमा सम्झौता नगर्न चेतावनी दिएका थिए।


