२०८३ कार्तिक १७ गते सोमबार

चाहना खुम्च्याउँछन् पढ्ने उमेरमै आमा बनेकाहरू

 |  रामचन्द्र रायमाझी
Sanket

रामचन्द्र रायमाझी

काठमाडौँ, फाल्गुण १५
student_mothers

पाल्पाको माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा प्रेमविवाह भयो। अहिले उनी २४ वर्षकी भइन्। उनको काखमा एक वर्षको छोरा छन्। विद्यालयमा कापी–कलम लिएर पढ्न जाने समयमा जर्घा बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आएकी छिन्। कक्षा पाँचमा पढ्दै गर्दा उनको विवाह भएको हो। हाँस्दै खेल्दै पढ्ने उमेरमा जर्घा एक सन्तानकी आमा छिन्।

जिल्लाकै निस्दी गाउँपालिका मित्यालकी शान्ति सारूको १३ वर्ष हुँदा मागी विवाह भयो। अहिले उनी २२ वर्षकी छिन्। सारूका चार वर्षका छोरा छन्। उनलाई अहिले सानैमा विवाह भएकोमा पछुतो छ। उमेर नपुगी विवाह भएकाले उनले आफ्ना धेरै चाहनालाई मनभित्रै खुम्च्याउनुपरेको छ।

‘बिहे गर्दिनँ भन्न कहाँ पाइन्थ्यो र! घरपरिवारको चाहनाअनुसार बिहे गर्नुपर्थ्याे, आफूलाई परेका हिंसाबारेमा पनि बोल्न सक्दिनथेँ। आफूसरहका धेरैजसो साथीको सानैमा विवाह भएको थियो। मेरो बालविवाह भएको अहिले बल्ल महसुस हुन्छ,’ उनले भनिन्।

उनीजस्तै जिल्लाका धेरै किशोरी आमा बनेका छन्। तराईमा व्याप्त रहेको भनिने बालविवाह पहाडी क्षेत्रमा पनि कम छैन। पढ्ने उमेरका यी किशोरीको काखमा छोराछोरी, टाउको सिन्दुर, गला पोते र हात राता चुराले भरिने गरेका छन्। अधिकांश बालिका विवाह गरेको एक-डेढ वर्षमै गर्भवती हुने गर्दछन्।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्यांकअनुसार जर्घा र सारू जस्तै पाल्पाका गर्भवती महिलामध्ये करिब १३ प्रतिशत बिहे गर्नका लागि नेपालको कानुनले तोकेको न्यूनतम उमेर २० वर्षभन्दा कमका छन्। बितेका तीन आर्थिक वर्षमा कुल १३ हजार ९९८ गर्भवती महिलामध्ये एक हजार ७८१ जना २० वर्षमुनिका अर्थात् १२.७२ प्रतिशत थिए। स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलका अनुसार स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न जाने महिलाको उमेर हेर्दा यो अवस्था देखिएको हो। कति गर्भवती स्वास्थ्य संस्थामा नआएका हुन सक्ने भएकाले यो मात्रा बढ्न सक्ने पोखरेलले बताए।

विगत तीन आवमा भएका गर्भवतीमध्ये उमेर नपुगेका निस्दी गाउँपालिकामा सबैभन्दा बढी अर्थात् २५ प्रतिशत थिए। तिनाउ गाउँपालिकामा २३, माथागढी गाउँपालिकामा २१, रैनादेवी छहरा गाउँपालिकामा १९, रामपुर नगरपालिकामा १५, रिब्दीकोट गाउँपालिकामा १४, पूर्वखोला गाउँपालिकामा १३, रम्भा गाउँपालिकामा ११, बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकामा आठ प्रतिशत किशोरी आमा बनेका हुन्।

बालविवाहका कार्यक्रम असफल
यहाँका स्थानीय तहले बालबालिकाका क्षेत्रमा कार्यक्रम तय गरेका त छन्, तर ती सबै असफलजस्तै भएका छन्। आफ्नो पालिकालाई ‘बालमैत्री’ घोषणा गर्ने होडबाजीमा उनीहरू छन्। बालबालिकाका नाममा यहाँका पाँचवटा पालिकाले तीन करोड आठ लाख रुपैयाँभन्दा बढी बजेटसमेत खर्च गरेका छन्, तर उपलब्धि भने शून्यजस्तै छ। २०७७ साल चैतमा लुम्बिनी प्रदेशमै पहिलो ‘बालमैत्री’ गाउँपालिका घोषणा गरेको बगनासकाली गाउँपालिकाले अहिलेसम्म ‘बालमैत्री’ कार्यक्रमका लागि एक करोड १९ लाख ५० हजार रुपैयाँ बजेट खर्च गरिसकेको भए पनि यहाँ बालविवाह रोकिएको छैन।

यस्तै, रम्भा गाउँपालिकाले आफ्नो पालिकालाई ०७८ पुसमा बालमैत्री गाउँपालिका घोषणा गरेको थियो। यहाँ यससम्बन्धी कार्यक्रमका लागि अहिलेसम्म ५६ लाख ५० हजार रुपैयाँ रकम खर्च भएको छ। गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बालविवाह हुने दर घटाउन सफल भएको दाबी गरे पनि यहाँ अझै पनि लुकिछिपी बालविवाह भइरहेका छन्।

सबैभन्दा बढी किशोरी आमा बनेको निस्दी गाउँपालिकाले ०७९ भदौदेखि सातवटै वडामा विभिन्न बालमैत्री कार्यक्रम चलाएको छ। त्यसका लागि अहिलेसम्म रु. ८७ लाख रकम खर्चिसकेको छ। बालविवाह केही मात्रामा घटे पनि रोकिएको छैन। ‘हामीले जुन अठोट गरेका थियौँ त्यसको प्रतिफल प्राप्त भएको छ,’ गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले भने। उनका अनुसार अघिल्लो आवमा पालिकाकाबाट बालविवाह गर्ने सात जोडीलाई फिर्ता गरिएको थियो। यहाँ मागीभन्दा भागी विवाह बढी गर्ने प्रचलन छ।

रामपुर नगरपालिकालाई ०८३ मंसिरभित्र बालमैत्री घोषणा गर्ने तयारी छ। यससँग सम्बन्धित कार्यक्रमका लागि पालिकाले अहिलेसम्ममा २५ लाख रुपैयाँ रकम खर्च गरिसकेको छ। माथागढी गाउँपालिकामा बालविवाह चुनौतीको रूपमा रहेको छ। यहाँ पनि सानै उमेरमा छोरीलाई अर्काको घरमा पठाइदिने परम्पराले गर्दा यसो भएको हो। तिनाउ गाउँपालिकामा पनि बालविवाह पहिलेदेखि नै हुँदै आएको देखिन्छ। पालिकाले आगामी ०८३ सालभित्र बालमैत्री पालिका घोषणा गर्ने गरी कार्यक्रम अगाडि बढाएको छ। तानसेन नगरपालिकाले पनि बालबालिकाको क्षेत्रमा लाखौँ रकम खर्च गरे पनि बालविवाह रोक्न सकेको छैन।

यहाँका ग्रामीण क्षेत्रमा अझै पनि बालविवाह कायमै छ। रैनादेवी छहरा गाउँपालिकाभित्र पनि बालविवाह हुने गरेको छ। यहाँ जनजाति, दलित, ब्राह्मण, क्षेत्रीको बसोबास छ। जनजाति, दलित समुदायभित्र करिब ४० प्रतिशत उमेर नपुग्दै विवाहबन्धनमा बाँधिने गरेको गाउँपालिकाले जनाएको छ। बालविवाह अन्त्य गर्नका लागि रिब्दीकोट गाउँपालिकाले खासै चासो देखाएको छैन।

पूर्वखोला गाउँपालिकामा बालविवाहको अवस्था अत्यन्त चुनौतीपूर्ण रहे पनि त्यसलाई घटाउन सकिएको छैन। पालिका अध्यक्ष नुनबहादुर थापाले विगतदेखि नै बालविवाहले जरा गाडेकाले त्यसलाई घटाउन चुनौती रहेको बताए। यहाँ बसोबास गर्ने करिब ८० प्रतिशत मगर समुदायमा छिट्टै विवाह गर्ने परम्परा हट्न नसक्दा बालविवाह न्यूनीकरणमा अप्ठ्यारो परेको अध्यक्ष थापा स्वीकार्छन्।

परिपक्व नहुँदै विवाह गरेका किशोर–किशोरीको जीवन कष्टकर बन्न थालेको छ। निस्दीको सरस्वती माविका प्रधानाध्यापक प्रदीप अर्यालले समाजले कम उमेरमा हुने विवाहलाई सहजै मान्यता दिँदा समस्या भइरहेको बताउँछन्। ‘किशोरीले विवाहको जिम्मेवारी बोकेर कसरी पढ्न सक्छन्, पढाइ निरन्तर नहुँदा बिचैमा छोड्छन्, विवाहबाटै उनीहरूको जीवन बर्बाद हुन्छ,’ उनी भन्छन्, ‘नियमित विद्यालयमा हुने कार्यक्रममा बालविवाहविरुद्ध भएको व्यवस्थाबारे जानकारी दिन्छौँ, तर रोक्न सकिएको छैन।’

बालविवाह कानुनी रूपमा अपराध भएकाले सरकारी र गैरसरकारी तवरबाट जनचेतना जगाउने विभिन्न कार्यक्रम गरिए पनि रोक्न सकिएको छैन। अधिवक्ता शिवप्रसाद देवकोटा जिल्लामा आउने अधिकांश मुद्दामा बालविवाह पनि रहेको बताउँछन्। उनले बालबालिकामा स्वास्थ्य समस्या, मानसिक समस्या, आर्थिक समस्या निम्तिने भएकाले यसलाई रोक्नु सबैको दायित्व भएको बताए। बालविवाह र कलिलैमा गर्भवती हुने समस्या अन्त्य गनुपर्नेमा उनको जोड छ।

कम उमेरमा विवाह गर्दा पुन्य प्राप्त हुन्छ भन्ने अन्धविश्वास, गरिबी तथा विभेद, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्नुजस्ता कारण बालविवाह हुने गरेको छ। बालविवाहका कारण शारीरिक, मानसिक रोगको सिकार, घरेलु हिंसा तथा विभेदमा वृद्धि, कम उमेरमा बच्चा जन्माउँदा आमा र शिशु दुवैको मृत्यु हुने खतरा, विवाहपछि पढाइ बिग्रनेजस्ता समस्या देखिएको छ। बालविवाह परम्परागत संस्कृति र जातीय व्यवस्थासँगै जोडिएको विषय भएकाले त्यस्ता कुसंस्कार र जातीय व्यवस्थालाई बदल्ने, छोरीको सशक्तीकरण गर्ने, समुदायसँग नजिक स्थानीय सरकार रहन्छ, उसले बालविवाहविरुद्ध अभियान सञ्चालन गर्ने, बालविवाह गर्ने–गराउनेलाई सामाजिक बहिष्कार गर्नुपर्ने आवाज उठ्न थालेको छ। -रासस

प्रकाशित: २०८१ फाल्गुण १५ गते बिहिबार ०२:०२
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना