काठमाडौँ- नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को अध्यक्ष पदका लागि गोपालप्रसाद निउरेले उम्मेदवारी दिएका छन्। शनिबार भएको मनोनयनमा निउरेसँगै चार जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
सिडेनमा पनि कांग्रेसकै गुटगत प्रतिनिधिका आधारमा तीन जना उम्मेदवार मैदानमा उत्रिँदा निउरेले आफ्नो उम्मेदवारी स्वतन्त्र भएको बताए। सिडेनभित्रको गुटबन्दी र सिन्डिकेटविरुद्ध आफूले उम्मेदवारी दिएका निउरेको भनाइ छ। चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडी चुनावी मैदानमा छन्।
वरिष्ठ जलविद्युत विज्ञ निउरेले २०५३ सालमा पश्चिमाञ्चल क्याम्पसबाट सिभिल ओभरसियर गरेका थिए। ईन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसबाट २०५७ सालमा सिभिल इन्जिनियरिङ विषयमा बीई गरेका उनले २०६५ मा पुल्चोक क्याम्पसबाट जलविद्युतमा एमएससी गरेका थिए।
२० वर्षदेखि जलविद्युत र ऊर्जा क्षेत्रमा सक्रिय निउरेले दुई दर्जन भन्दा बढी जलविद्युत आयोजनाको डिजाईन तथा निर्माणमा संलग्न भएका छन्। निउरे सयपत्री हाईड्रोपावर र युनिट्स ईन्जिनियरिङ प्रालिका संचालक पनि हुन्। उनी सगरमाथा इन्जिनियरीङ कलेजका निवर्तमान सञ्चालक पनि हुन्।


