पोखरा- नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले क्रिकेट प्रतियोगिता चलाउनका लागि सरकारमा भर पर्नै पर्ने बाध्यता कम हुँदै गएको बताएका छन्। पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘फ्री हिटः एनपीएलभन्दा पर’ सेसनमा सचिव खड्काले यस्तो बताएका हुन्।
खेल पत्रकार सविना कार्कीसँगको संवादमा पारसले सुविधासम्पन्न क्रिकेट मैदान बनेको खण्डमा क्रिकेटका लागि सरकारको भर पर्नु नपर्ने बताए। ‘सम्पन्न क्रिकेट मैदानबाट ५ सय, हजार, १५ सय, दुई हजारमा टिकट बिक्री गरेर आम्दानी गर्न सक्छौँ,’ उनले भने, ‘त्यो हुन सकेमा क्रिकेटमा सरकारमा भर नपरी आफैँ पनि प्रतियोगिता सञ्चालन गर्न सक्छौँ भन्ने स्थितिमा पुगेका छौं।’
त्रिवि क्रिकेट मैदानको फ्लड लाइट बनाउन टेन्डर प्रोसेस पूरा भइसकेको सचिव खड्काले सुनाए। मन्त्रालयबाट एनपीएलको दोस्रो संस्करण फ्लड लाइटमा खेलाउने गरी काम भइराखेको प्रतिवद्धता भएको खड्काको भनाइ छ।
‘शहरी विकास मन्त्रालयको सचिवज्यूहरुसँग समन्वय गर्दा २४ घण्टा र ३ सिफ्ट गराएर भए पनि यसलाई चाँडोभन्दा चाँडो सक्काएर एनपीएल दोस्रो संस्करणसम्म फ्लडलाइटमै खेलाउनुपर्छ भन्ने प्रतिबद्धताका साथ उहाँले हामीलाई आश्वासन दिनुभएको छ,’ उनले भने।
नेपाली राष्ट्रिय पुरुष टोलीको पूर्वकप्तानसमेत रहेका पारसले राष्ट्रिय टोलीका खेलाडी टप १०/१२ खेलाडी वर्षमा ४०/५० लाख कमाउने स्थितिमा पुगेको बताए। ‘टप १०/१२ जना खेलाडीहरु वर्षमा कम्तीमा ४०/५० लाख कमाउन अवस्थासम्म पुग्नुभएको छ। भने ठ्याक्कै १०/१२ जनाभन्दा मुनि चाहिँ ३०/३५ लाख कमाउने स्थितिमा पुग्नुभएको छ,’ उनले भने।
आर्थिक हिसाबले अहिले क्रिकेटमा खेलाडी र संघको स्तर राम्रो रहेको क्यानका सचिव खड्काले सुनाए। ‘मेरो जेनेरेसनलाई सोध्नु हुँदाखेरि मैले क्रिकेट सुरु गर्दा क्रिकेट संघमा २५ रुपैयाँ भत्ता पाउथ्यो। २५ रुपैयाँबाट सुरु गरेर हाम्रो जेनेरेसनले अन्तर्राष्ट्रिय प्रतियोगितामा २५ डलर पाउथ्यौं,’ उनले भने, ‘वर्षमा ७५० डलर कमाउने त्यो अवस्थामा ब्याट पनि किन्नुपर्यो। लुगा पनि किन्नुपर्यो। परिवारलाई पनि अलिअलि दिनुपर्यो। साथीभाइलाई पनि खुवाउनुपर्यो। त्यो संरचनाबाट खेलाडी क्रिकेट जुन अवस्थामा पुगेको छ। आर्थिक हिसाबले खेलाडीहरु, क्रिकेट संघ धेरै राम्रो स्तरमा पुगेको छ।’
सन् २०२४ मा भएको टी–२० विश्वकप भारतपछि सबैभन्दा धेरै नेपालको फ्यान, फलोइङको रहेको खड्काले जिकीर गरे। ‘नेपालले अमेरिकामा विश्वकप खेल्दा त्यहाँ ८ हजार, ९ हजार डालसको ग्राउण्डमा थिए भने त्यहाँ ५० जना नेदरल्यान्ड्सका ५० जना र ८ हजार ९ सय ५० जना नेपाली थिए। सन् २०२४ मा भएको टी–२० विश्वकपमा भारतपछि सबैभन्दा धेरै फ्यान नेपालको देखियो मैदानमा,’ उनले भने।
सचिव खड्काले संघले अहिले राष्ट्रियदेखि प्रदेशसम्मका ८०/९० खेलाडी कन्ट्याक्टमा मासिक पारिश्रमिक दिने गरेको बताए। उनले भने, ‘क्रिकेट संघले ३० जना पुरुष र १९ जना महिला खेलाडी, प्रदेशबाट पनि गरी ८०/९० जना खेलाडीलाई कन्ट्याक्ट दिएर खेलाउने अवस्थामा पुगेका छौं। यी सबैकुरा जोड्दा क्रिकेट संघ राम्रो पोजिसनमा छौं।’
संघले अहिले खेलाडी, प्रशिक्षक, ग्राउण्ड स्टाफदेखि सबैलाई कसरी प्रोफेसनमा लग्न सकिन्छ भनेर काम गरिएको पारसले सुनाए। ‘खेलाडीको पारिश्रमिक एक लाखलाई दुई लाख कसरी बनाउने ? जिल्ला, प्रदेशबाट नै हाम्रो खेलाडी, प्रशिक्षक, ग्राउण्ड स्टाफदेखि सबैलाई कसरी प्रोफेसन रुपमा यसमा लाग्न सकिन्छ भनेर इन्डस्ट्री बनाउनुपर्छ भनेर अगाडि बढेका छौं,’ उनले भने।
एनपीएलले खेलकुद संस्कार विकास गरेको पारसले सुनाए। ‘एनपीएल सकिएसँगै जनकपुर बोल्ट्सले मधेश प्रदेशमा गएर जानकी मन्दिर अगाडी गएर ट्रफि टुर गर्दाखेरि कसैले नबोलाइकन ५/७ लाख मान्छेहरु यो मेरो टिम हो भनेर टिमलाई समर्थन, ट्रफीलाई एकपटक छुनका लागि जानुभयो,’ उनले भने, ‘त्यो सुन्दा, देख्दाखेरि एनपीएलबाट संस्कार, खेलकुद पनि प्र्राथमिकतामा पर्छ। खेलकुद विकास गर्नुपर्छ भनेर सबै जनामा आफ्नो पन आएको फिल भएको छ।’


