काठमाडौँ – ला लिगामा बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति सकिएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा १० खेलाडीमा सीमित रियल सोसिडाडलाई ४-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।
१७ औं मिनेटमै एर्टिज एलिसटुन्डोले रातोकार्ड खाँदै मैदान छाड्नुपरेपछि रियल सोसिडाड खेल अवधिभर दबाबमा रह्यो। २५ औं मिनेटमा जेरार्ड मार्टिनले बार्सिलोनाका लागि अग्रता दिलाएका थिए। त्यस्तै मार्क कासाडोले २९ औं मिनेटमा गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० गोलअन्तरले अगाडि रहिसकेको थियो।
दोस्रो हाफमा ५६ औं र ६० औं मिनेटमा क्रमशः रोनाल्ड अराउहो र रोबर्ट लेवन्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।
जितसँगै बार्सिलोनाले लिगमा २६ खेलबाट ५७ अंक बनाउँदै शीर्ष स्थान कब्जा गरेको छ। समान खेलबाट एट्लेटिको मड्रिडको ५६ अंक छ भने तेस्रो स्थानमा रहेको रियल मड्रिडको ५४ अंक छ।


