काठमाडौँ – यस वर्ष निकै खराब लयबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौँ चरणबाटै बाहिरिएको छ ।
फुलहामसँग आइतबार राति टाइब्रेकरमा ४-३ ले पराजित हुँदै युनाइटेड क्वाटरफाइनल पुग्न असफल रह्यो । फुलहाम अन्तिम आठमा पुगेको छ ।
निर्धारित ९० मिनेट र थप ३० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
त्यसअघि निर्धारित समयमा पहिलो हाफको इन्जुरी समयमा केल्भिन बासेले गोल गर्दै फुलहामलाई अग्रता दिलाए । ७१औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेड खेलमा फर्किएको थियो। तर टाइब्रेकरमा युनाइटेड अभागी रह्यो।
युनाइटेडले गत वर्षको फाइनलमा म्यानचेस्टर सिटीलाई हराएर उपाधि जितेको थियो ।
एफए कपमा युनाइटेड दोस्रो सर्वाधिक टोली हो । आर्सनलले १४ र युनाइटेडले १३ पटक एफए कप जितेका छन् ।
