काठमाडौँ – १२ वर्षअघि कालिमाटी तरकारी बजारमा भएको भीषण आगलागीको सम्झनास्वरूप आज सम्पूर्ण कारोबार बन्द गरिएको छ।
बजार समितिले आज सूचना जारी गरेर कुनै पनि कारोबार नभएको जनाएको छ।
आजको दिनलाई शोकका रूपमा लिइएको समितिले जनाएको छ।
सन् २०१३ मार्च ४ तारिखका दिन उक्त बजारमा ठूलो भिषण आगलागी भएको थियो । उक्त आगलागीमा परी कालिमाटी तरकारी बजार पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै ६ जनाको जलेर मृत्यु भएको थियो ।
एकै परिबारको ४ जनाको जलेर मृत्यु भएको थियो । उक्त आगलागीमा परी कालिमाटी तरकारी बजारका सुरक्षागार्ड हीराबहादुर पुन, उनकी छोरी १६ वर्षीया शान्ति पुन, १४ वर्षीया नीरा पुन र १२ वर्षीय छोरा निराजन पुनको मृत्यु भएको थियो ।
यसबाहेक थप दुईजनाको जलेर मृत्यु भएको थियो । सुरक्षागार्ड हीराबहादुरकी श्रीमती हिक्का पुनसहित बजारमा भरियाको काम गर्ने गोरखाका बलबहादुर श्रेष्ठ पनि घाइते भएका थिए ।
आगोमा जलेर मृत्यु भएको व्यक्तिहरूको शरीर क्षतविक्षत अवस्थामा फेला परेको थियो । आगोमा परेर एउटा कुकुर समेत मरेको थियो ।



