सिरहा – बिहे गर्ने आश्वासन देखाएर पटक पटक बलात्कार गरेको आरोपमा सिरहाबाट एक प्रहरी जवान पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाले इलाका प्रहरी कार्यालय लहानमा कार्यरत मुद्दाशाखाका प्रहरी जवान नवीन यादवलाई पक्राउ गरेको हो।
पीडित महिलाले दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।
इलाका प्रहरी कार्यालय लहानमा पटक–पटक जाहेरी दिन जाँदा पनि दर्ता नभएको र जिल्ला प्रहरी कार्यालयमा गएर उजुरी दर्ता गराउनुपरेको उनले बताइन् ।
पीडित महिलाले यस विषयमा इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु सोतिसमक्ष समेत गुहार मागेकी थिइन्। तर, जाहेरी दिन खोज्दा प्रहरी जवानकै कारण अवरोध झेल्नुपरेको उनको गुनासो छ।
यता इलाका प्रहरी कार्यलय लहानका डीएसपी विष्णु सोतीले आफूसँग भने यस्तो उजुरी नआएको दाबी गरेका छन्।
पीडितको जाहेरीका आधारमा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सिरहा प्रहरीले जनाएको छ।
