म्याग्दी – उमेरले आठ दशकमा लागेका म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका लीलबहादुुर पुनको दैनिकी बाख्रासँगै जंगल र गोठ गरेर बित्ने गरेको छ । ८० वर्षीय लीलबहादुरको बाल्य र युवा अवस्था पनि भेडाबाख्रासँगै घुम्ती गोठ लिएर लेक-बेशी गरेरै बितेको थियो ।
‘बुवा आमाले भनेअनुसार मेरो जन्मपनि गोठमै भएको थियो, जीवन पनि गोठमै बित्यो,’ उनले भने, ‘बाबु बाजेका पालादेखि गर्दै आएको भेडाबाख्रा पाल्ने पेसालाई मैलेसम्म धानेको छु ।’ गत कात्तिकमा ढोरपाटनको बुकीबाट मुनाको झारवाङमा गोठ झारेका उनले हिउँद त्यही बिताए।
दुई सयभन्दा बढी घरपरिवारको बसोबास रहेको मुना गाउँमा अहिले लीलबहादुरले मात्रै घुम्ती गोठमा बाख्रा पालेका छन् । आठ-दश वर्षअघिसम्म ४०/५० बाख्रा नहुने घर थिएन् । चार-पाँच घर मिलेर एक जना गोठाला राखेर चरन क्षेत्रमा गोठ लैजाने चलन थियो ।
पाँच वर्षअघिसम्म एक हजार भेडाबाख्रा पालेका लीलबहादुरले अहिले भेडा सबै बेचिसके। स्थानीय खरी जातका एक सय बाख्रालाई दुई वर्षअघि रु छ लाखमा बेचेका लीलबहादुर हाल भएका बाखा बेच्नका लागि पनि ग्राहक खोजे पनि पाएका छैनन्।
‘गाउँका सबै बाख्रा गोठ मासिए, मैले पनि एक सय ५० मा झारेको छु,’ लीलबहादुरले भने, ‘छोरानातिले यो पेसा अगालेनन् । विदेशतिर लागे । बाख्रा बेच्न ग्राहक खोजेको छु । पाएको छैन ।’ भेडाबाख्रा पालेर लीलबहादुरका दम्पतीले १० जना छोराछोरी हुर्काएको र घरव्यवहार चलाएको बताए ।
उनले कान्छा छोरा रासबहादुर पुनलाई अस्ट्रेलिया पठाएका छन्। तीन जना घरमै छन् । घरमा भएकामध्य साहिला छोरा पक्षघातका बिरामी छन् । छ जना छोरीको बिहेबारी भइसकेको छ । जवान हुँदा गाउँगाउँमा आएर भारतीय र गोर्खा सैनिकमा भर्ती गराउने चलन रहे पनि भेडागोठमै रमाएका लीलबहादुरले लाहुरे सपना देखेनन्।
उनले वार्षिक १५-२० वटा खसीबोका र १०-१५ वटा माउ बाख्रा बेच्छन्। चारदेखि पाँच वर्ष पालेको बोका र खसीलाई रु ३० हजारसम्ममा बिक्री गर्छन्। खसी मासु र बोका बलि चढाउन बिक्री हुुन्छ । माउ बाख्रा भने घरमा पाल्नेहरूले किन्ने गरेका उनी बताउँछन् ।
हिउँदमा बेसी झरेको समयमा घरपरिवार र आफन्तसँग भेटघाट भए पनि जेठदेखि असोजसम्म हिमाल फेदीका बुकीको घुम्ती गोठको बसाइ कष्टप्रद हुने उनले सुनाए। हप्तौँसम्म झरी पर्दा, भेडाबाख्रा हराउँदा, जंगली जनावरले दुःख दिँदा, घर परिवारसँग भेटघाट नहुँदा न्यास्रो लाग्ने गरेको उनको अनुभव छ । लेक जाँदा बर्खायामलाई पुग्ने खाद्यान्न पनि लैजाने गरेको उनले सुनाए ।
रेडियोमा गीत, समाचार सुनेर मनोरञ्जन लिने उनलाई पछिल्लो समय मोबाइल फोनको सुविधा भएपछि साँझ, बिहान घरपरिवार, आफन्तसँग हालखबर सोध्न र गफिन सजिलो भएको छ ।
गोठाला बस्दा हिमालको फेदीमा सुन्दर दृश्य अवलोकन गर्न पाउँदा रमाइलो मान्ने उनले चितुवा र ब्याँसोले भेडाबाख्रालाई आक्रमण गर्ने र मारेर क्षति पुर्याउने क्रम बढेको बताए। बाख्रालाई जंगली जनावरबाट बचाउन र आफ्नो सुरक्षाका लागि लीलबहादुरले भोटे कुकुर पनि पालेका छन्।


