काठमाडौँ – हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।


