काठमाडौँ- निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सन् २०२५ भित्रमा नै थ्रीजी सेवा बन्द गर्ने तयारी गरेको छ। आफूहरूले अब फाइभजी सेवामा अपग्रेड हुने तयारी गरिरहेकाले थ्रीजी सेवा बन्द गर्ने तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताए।
‘सन् २०२५ भित्रै एनसेलले थ्रीजी सेवा बन्द गर्ने तयारी गरिरहेको छ,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौँमा आयोजना गरेको ‘रिभाइटलाइजिङ द टेलिकम इन्डस्ट्री’ विषयक कार्यक्रममा उनले भने, ‘यसका लागि सरकारले भिओएलटीई प्रविधि नचल्ने फोनको आयातमा कडाइ गर्नुपर्छ।’ उनले अब टेलिकमका सेवालाई सब्स्क्रिप्सन मोडलमा लैजानुपर्ने पनि उनको भनाइ थियो। त्यसका लागि एनसेलले तयारी पनि गरिरहेको उनको भनाइ थियो।

नेपालको दूरसञ्चार क्षेत्र ठूलो संकटको नजिक आइपुगेको भन्दै सबै सचेत हुनुपर्ने अपिल गरे। जीएमएसको सूचीमा दुई वर्षअघि ११७ स्थानमा रहेको नेपाल अहिले ११९औं श्रेणीमा झरेकोमा चिन्ता व्यक्त गर्दै सहज वातावरण नहुँदा यस क्षेत्रमा विदेशी लगानी आकर्षित हुन नसकेको उनको भनाई थियो।
नेपालको दूरसञ्चार क्षेत्रको व्यापार निरन्तर ओरालो लाग्दै गएकाले यसबाट सरकारलाई जाने करको दर पनि निरन्तर घटिरहेकोले यस्तो अवस्थामा सबै गम्भीर हुनुपर्ने उनले बताए।
कायुमोभले नियामक नेपाल दूरसञ्चार प्राधिकरणको भूमिका सेवा प्रदायकहरुलाई सहजीकरणमा बढी केन्द्रित हुनुपर्नेमा राजस्व संकलनमा बढी ध्यान दिएकोमा चिन्ता व्यक्त गरे। फोरजी विस्तारमा अपरेटरहरुले ठूलो लगानी गरिसकेको अवस्थामा फाभइजीका लागि राज्यले स्पेक्ट्रमको बोलकबोल अघि बढाए सहभागी हुन तयार रहेपनि उपयुक्त स्पेक्ट्रमको सुनिश्चितता हुनुपर्ने उनको भनाई थियो।


