काठमाडौँ- मकवानपुर जिल्लाको हेटौँडामा शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन केन्द्रीय समितिका सचिव निराजन बमले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डको फोटो जलाएका हुन्।
प्रचण्डको फोटो जलाएको आरोपमा बम भरतपुर विमानस्थलबाट पक्राउ परेका छन्। उनी काठमाडौं जान लागेका बेला चितवन प्रहरीले विमानस्थलबाट आइतबार पक्राउ गरेको हो।
बमलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पूर्वप्रधानमन्त्रीको फोटो जलाउने कार्य गलत र आपराधिक क्रियाकलाप भएकाले पक्राउ गरिएको जानकारी दिए।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा प्रचण्डको फोटो जलाइएको थियो। कार्यक्रममा संघीय सांसद दीपकबहादुर सिंह पनि उपस्थित थिए।
बमलाई पक्राउ गरिएकोमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विरोध गरेको छ। आइतवार विज्ञप्ति जारी गर्दै संगठनका सयोजक सुजित केसीले बमलाई पक्राउ गरेर सरकारले नागरिकको वैयक्तिक स्वतन्त्रतालाई अवरोध गरेको आरोप लगाएको छ।
यता प्रचण्डले भने आफ्नो फोटो जलाउँदैमा पक्राउ गर्न नपर्ने प्रतिक्रिया दिएका छन्। आइतबार फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले लोकतन्त्रमा विरोध गरेकै आधारमा पक्राउ गर्न नहुने धारणा राखेका हुन्।
‘लोकतन्त्रमा विरोधका विभिन्न रूप हुन्छन्,’ प्रचण्डले फेसबुकमा लेखेका छन्, ‘फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’
यसअघि फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत जुलुसमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो देखाइएको थियो। नेपाली नागरिक प्रदीपविक्रम राणाले उक्त फोटो देखाएका थिए।
यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विदेशीको इशारामा पूर्वराजाका समर्थकले प्रदर्शन गरेको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि भने राणा भागेर भारतको गोरखपुर पुगेका छन्।
केही दिनअघि भारतीय सञ्चार संस्था नवभारत टाइम्ससँग कुराकानी गर्दै उनले नेपालमा आफूलाई सुरक्षा चुनौती भएको भन्दै भारततर्फ भाग्नुपरेको बताएका थिए। मुख्यमन्त्री योगीको पोस्टर देखाउनु आफूलाई महँगो सावित भएको उनको भनाइ थियो।
‘प्रहरी मेरो पछि लागिरहेको छ र म नेपाल छोडेर भारतमा शरण लिनु पर्यो,’ उनले नवभारत टाइम्ससँग भनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी नेताको पोस्टर देखाएर प्रदर्शन गरिएको भन्दै आलोचना गरेका छन्। यसपछि उनका विषयमा चर्चा चुलिइरहेको छ।
५८ वर्षीय राणा नेपालबाट भागेर मंगलवार मात्र गोरखपुर पुगेका थिए। योगीसँग मिलेर नेपालको वर्तमान सरकारविरुद्ध षड्यन्त्र गरिरहेको आरोप आफूमाथि लगाइएको उनको भनाइ छ।
‘प्रहरी मेरो पछि लागिरहेकाले म भारत भाग्नु पर्यो,’ उनले भनेका छन्। उनी काठमाडौँकै बासिन्दा भएको बताएका छन्।
राणाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कहिल्यै पनि नभेटेको बताएका छन्। उनले भारतका कुनै राजनीतिज्ञसँग भेट नएको उल्लेख गरे। ‘म हाम्रा राजा ज्ञानेन्द्र र योगी आदित्यनाथलाई सम्मान गर्छु,’ उनले भनेका छन्, ‘यो मेरो एक मात्र अपराध भयो। म नेपाललाई हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षधर हुँ।’धेरै मुस्किलले आफू नेपालबाट भागेर गोरखपुरसम्म पुग्न सफल भएको उनको भनाइ छ।
उनले आफूलाई कसैले पनि योगी आदित्यनाथको फोटो राख्न नउक्साएको दाबी गरे। वर्तमान सरकार नहटेसम्म आफू नेपाल नफर्कने उनको भनाइ छ।


